ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ असोज
अभिनेता विराज भट्टको निर्देशनमा बनेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘१२ गाउँ २’ ले चलचित्र जाँच समितिबाट ‘पीजी’ प्रमाणपत्र प्राप्त गरेको छ। प्रदर्शनको तयारीमा रहेको चलचित्रको अग्रिम टिकट बुकिङसमेत खुला भएको छ। एक्सन, पारिवारिक सम्बन्ध, संघर्ष र प्रतिशोधको कथा समेटिएको चलचित्रले प्रारम्भिक चरणमा देशभरका मल्टिप्लेक्समा १०० भन्दा बढी शो पाएको छ।
‘पीजी’ प्रमाणपत्र प्राप्त गरेसँगै १६ वर्षभन्दा कम उमेरका दर्शकले चलचित्र हेर्न जाँदा अभिभावकको साथ लिनुपर्नेछ। चलचित्रमा समावेश एक्सन दृश्य र कथावस्तुलाई ध्यानमा राख्दै यस्तो प्रमाणपत्र दिइएको हो।
प्रदर्शन मिति नजिकिँदै गर्दा काठमाडौँ उपत्यकासहित मोफसलका विभिन्न मल्टिप्लेक्सले अग्रिम टिकट बुकिङ खुलाएका छन्। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले शुक्रबारका लागि काठमाडौँ उपत्यकामा २३ तथा मोफसलमा २२ शो उपलब्ध गराएको छ। त्यस्तै, आईएनआईले देशभरका आफ्ना आउटलेटमा १६ शो दिएको छ।
यसैगरी, फ्रेन्ड्स सिनेमाज्ले १०, वान सिनेमाज्ले आठ र बिग मुभिजले तीन शो उपलब्ध गराएका छन्। अन्य मल्टिप्लेक्सले भने आफ्नो प्रदर्शन तालिका सार्वजनिक गर्न बाँकी छ। आगामी दिनमा थप शो खुल्ने सम्भावना रहेको छ।
चलचित्रका वितरक गोविन्द शाहीका अनुसार हलहरूले शो उपलब्ध गराउने क्रम जारी छ। उनले बिहीबार साँझसम्ममा देशभरका हलबाट ‘१२ गाउँ २’ ले १५० भन्दा बढी शो पाउने दाबी गरेका छन्।
चलचित्रमा विराज भट्ट र उनका छोरा समीर भट्टको पर्दा उपस्थितिलाई दर्शकले विशेष चासोका साथ हेरेका छन्। बुबा–छोराको जोडीसँगै अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, कृशु शाही (काफिया), वर्षा इटनी, खुसी कार्की र पुष्कर भट्टलगायत कलाकारको अभिनय रहेको छ।
विराज भट्टको निर्देशन रहेको चलचित्रको कथा तथा पटकथा सन्तोष सरकारले तयार पारेका हुन्। महेश पौडेलको छायाङ्कन र बन्दे प्रसादको सम्पादन रहेको चलचित्रमा युग भुसाल र डीपी खनालको संगीत छ। रामजी लामिछाने र सियोन श्रेष्ठले नृत्य निर्देशन गरेका छन् भने स्टन्ट सिल्भा र शंकर महर्जनले द्वन्द्व निर्देशन गरेका छन्।
एक्सन दृश्य, पारिवारिक सम्बन्ध र प्रतिशोधको कथालाई मुख्य आधार बनाइएको ‘१२ गाउँ २’ ले प्रदर्शनअघि नै दर्शकमाझ उत्सुकता बढाएको छ। अग्रिम बुकिङ र हलमा प्राप्त हुने शो संख्याले चलचित्रको व्यावसायिक सुरुवात कस्तो रहला भन्ने चासोलाई थप बढाएको छ।









