पर्दामा मदनकृष्णको जीवनकथा : ‘म मदनकृष्ण’, पहिलो चरणको छायांकन पूरा


ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ असोज

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनका महत्वपूर्ण घटना, संघर्ष र सफलतालाई समेटेर निर्माण भइरहेको बायोपिक चलचित्र ‘म मदनकृष्ण’को पहिलो चरणको छायांकन सम्पन्न भएको छ। असोज २ गतेदेखि काभ्रेको धुलिखेलबाट सुरु भएको चलचित्रको पहिलो सेड्युलको काम पूरा भएको निर्देशक मिलन चाम्सले जानकारी दिएका छन्।

आफ्नै जीवनकथामा आधारित चलचित्रको छायांकन अवलोकन गर्न कलाकार मदनकृष्ण श्रेष्ठ स्वयं सेटमा उपस्थित भएका थिए। उनले छायांकन भइरहेका विभिन्न दृश्य हेर्नुका साथै आवश्यक सुझावसमेत दिएका थिए। आफ्नो जीवनका घटनालाई पर्दामा उतारिएको देख्दा उनी भावुक बनेको निर्देशक चाम्सले बताएका छन्।

‘मदनकृष्ण स्वयं सेटमा उपस्थित हुँदा चलचित्र निर्माणको काममा थप सहज भएको छ। आफ्नो जीवनमा आधारित दृश्यहरू हेरेर उहाँ भावुक पनि हुनुभयो। चलचित्रको कामप्रति उहाँ सन्तुष्ट हुनुहुन्छ,’ निर्देशक चाम्सले भने। चलचित्रको दोस्रो चरणको छायांकन दसैँलगत्तै सुरु गरिने पनि उनले जानकारी दिए।

चलचित्रमा मदनकृष्ण श्रेष्ठको भूमिकामा अभिनेता महेश त्रिपाठी प्रस्तुत हुँदैछन्। उनकी श्रीमती यशोदाको भूमिकामा केकी अधिकारी देखिनेछिन्। त्यस्तै, मदनकृष्णका लामो समयदेखिका सहयात्री तथा कलाकार हरिवंश आचार्यको भूमिकामा अरुण क्षेत्रीले अभिनय गरिरहेका छन्। हरिवंशकी श्रीमतीको भूमिकामा अभिनेत्री वर्षा राउत देखिनेछिन्।

मदनकृष्णको बाल्यकालदेखि सरकारी जागिरे जीवन, हरिवंश आचार्यसँगको कलात्मक सहकार्य, अन्तरजातीय विवाह तथा व्यक्तिगत र व्यावसायिक जीवनका विभिन्न आरोह–अवरोह चलचित्रमा समेटिनेछन्। नेपाली हास्यव्यङ्ग्य र कलाकारितामा विशिष्ट योगदान दिएका मदनकृष्णको जीवनयात्रालाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले चलचित्र निर्माण भइरहेको छ।

मिलन चाम्सको निर्देशनमा तयार भइरहेको चलचित्रको कथा तथा पटकथा यम थापाले लेखेका हुन्। भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा बन्न लागेको चलचित्रका निर्माता राजकुमार श्रेष्ठ हुन्।

चलचित्रमा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने, रुषा न्यौपाने, देशभक्त खनाल, दिनेश डिसी, कृष्णभक्त महर्जन, सुरज तमु, दीया जिसी, सिर्जना अधिकारी र हिउँवाला गौतमलगायत कलाकारको पनि अभिनय रहनेछ। बाल कलाकारका रूपमा जेविस र जेविन श्रेष्ठ देखिनेछन्।

पदमबहादुर श्रेष्ठ (बाबु श्रेष्ठ) चलचित्रका छायाँकार हुन्। चलचित्रको सम्पादन मिलन श्रेष्ठले गर्नेछन् भने अलिश कार्कीले पृष्ठभूमि सङ्गीत र भरत कँडेलले ध्वनि संयोजनको जिम्मेवारी सम्हालेका छन्।

चलचित्रलाई आगामी चैत ४ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा करण श्रेष्ठको रिच इन्टरटेनमेन्ट तथा उपत्यकाबाहिर रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरण गर्नेछन्।