ब्युटी न्युज नेपाल
काठमाडौँ, ८ असोज
काठमाडौँमा कन्टेन्ट क्रिएटर तथा व्यावसायिक ब्रान्डबीचको सहकार्यलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यसहित एआईमा आधारित डिजिटल प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा आएको छ।
क्रिएटर इकोनोमी तथा डिजिटल मार्केटिङको क्षेत्रमा देखिएका विभिन्न व्यावहारिक समस्यालाई समाधान गर्ने लक्ष्यसहित ल्याइएको इनमार्कलाई क्रिएटर र ब्रान्डबीच सहकार्य गराउने ‘अल–इन–वन’ डिजिटल प्लेटफर्मका रूपमा विकास गरिएको कम्पनीले जनाएको छ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत सामग्री उत्पादन गर्ने क्रिएटरको संख्या बढ्दै गए पनि उनीहरूलाई उपयुक्त ब्रान्डसँग जोडिन कठिन हुने गरेको छ। त्यसैगरी, ब्रान्ड तथा विज्ञापन एजेन्सीले पनि आफ्नो उत्पादन र लक्षित उपभोक्तासँग मिल्ने क्रिएटर छनोट गर्न ठूलो समय र स्रोत खर्च गर्नुपर्ने अवस्था छ। इनमार्कले यही प्रक्रियालाई एआई र तथ्यांक विश्लेषणमार्फत सहज बनाउने जनाएको छ।
प्लेटफर्ममा आबद्ध भएपछि क्रिएटरको सामग्रीको शैली, दर्शकको प्रकृति, विगतका अभियान तथा अन्य विवरणका आधारमा एआईले उपयुक्त ब्रान्डसँग सहकार्यका अवसर पहिचान गर्ने बताइएको छ। यससँगै सामग्रीको अवधारणा तथा लेखन, सामग्रीको प्रभावकारिता बढाउने प्रक्रिया, खोज इन्जिन अनुकूलन र अभियानसम्बन्धी प्रतिवेदन तयार गर्नसमेत एआईको सहयोग उपलब्ध हुनेछ।
ब्रान्डका लागि पनि इनमार्कमा अभियान सञ्चालन गर्न सहज हुने कम्पनीको दाबी छ। ब्रान्डले आफ्नो आवश्यकतालाई भिडियो वा आवाजमार्फत प्रस्तुत गरेपछि एआईले त्यसलाई अभियानको संक्षिप्त विवरण, सामग्री निर्देशन तथा ह्यासट्यागमा रूपान्तरण गर्न सक्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, ‘एआई फिट स्कोर’का आधारमा ब्रान्डको बजेट, अभियानको उद्देश्य र लक्षित दर्शकसँग उपयुक्त हुने क्रिएटर पहिचान तथा सिफारिस गर्न सकिने बताइएको छ। ठूलो संख्यामा क्रिएटरले तयार गरेका सामग्री अभियानको निर्देशनअनुसार भए–नभएको परीक्षण गर्नसमेत एआईको प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
इनमार्कले क्रिएटर र ब्रान्डबीच हुने सहकार्यमा मूल्य निर्धारण, सम्झौताका सर्त तथा सामग्रीको बौद्धिक सम्पत्तिसम्बन्धी विषयलाई समेत व्यवस्थित गर्ने जनाएको छ। यसबाट सामाजिक सञ्जालमा सामग्री उत्पादन गर्ने क्रिएटरले ब्रान्ड सहकार्यका माध्यमबाट थप व्यावसायिक अवसर प्राप्त गर्ने अपेक्षा गरिएको छ।
क्रिएटर तथा ब्रान्डले आफ्ना सामाजिक सञ्जाल खातामार्फत ‘वान–क्लिक’ लगइन गरी इनमार्कको सेवा प्रयोग गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।






