ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ भदौ
एसएमपी मिडिया हाउस र निकिला मिडियाको संयुक्त आयोजनामा चीनको राजधानी बेइजिङस्थित होटल लिफनमा छैटौँ ग्लोबल कन्फ्रेन्स तथा अवार्ड समारोह सम्पन्न भएको छ। समारोहमा नेपाल र चीनका विभिन्न क्षेत्रमा योगदान पुर्याएका करिब डेढ दर्जन नेपालीसहित व्यवसायी, कलाकार, समाजसेवी तथा विज्ञलाई सम्मान गरिएको हो।
नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटन, संस्कृति, आर्थिक तथा व्यावसायिक सहकार्यसँग जोड्दै सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पर्यटन प्रवद्र्धन, आर्थिक सहकार्य र व्यावसायिक सम्बन्ध विस्तारबारे छलफल गरिएको थियो।

चीनका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एसिया प्यासिफिक ट्रेड एग्रिमेन्ट तथा चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका प्रमुख वाङ यानसहित चिनियाँ व्यवसायी तथा उद्यमी गुओ कोनी ली, मेई र डविलिया औटीलाई विशेष सम्मान प्रदान गरिएको थियो।
कार्यवाहक राजदूत खनालले अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमले नेपाल–चीन सम्बन्ध थप मजबुत बनाउनुका साथै पर्यटन तथा आर्थिक सहकार्य विस्तारमा योगदान पुर्याउने बताए। वाङ यानले दुई देशबीचको सहकार्यलाई अझ व्यापक बनाउनुपर्नेमा जोड दिए।
वरिष्ठ गायक सीताराम पोखरेललाई ‘एपेक्स ग्लोबल विशेष सम्मान’ प्रदान गरिएको थियो। शिक्षा, इन्जिनियरिङ, कला, समाजसेवा, गायन, युवा प्रतिभा, स्वास्थ्य, महिला उद्यमशीलता र पर्यटनलगायत क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई विभिन्न विधामा सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम आयोजक संस्थाका प्रमुख तथा अभिनेता श्रीदेव भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो। समारोहको सञ्चालन सोनीतराज ढुंगेलले गरेका थिए। सातौँ ग्लोबल कन्फ्रेन्स तथा अवार्ड इन्डोनेसियाको बालीमा आयोजना गर्ने घोषणा समेत गरिएको छ।






