अनुपम रोशीको ‘भगः एक मौन ब्रह्माण्ड’ विमोचन


ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ असोज

लेखक अनुपम रोशीको नयाँ कृति ‘भगः एक मौन ब्रह्माण्ड’ काठमाडौँमा आयोजित एक समारोहबीच विमोचन गरिएको छ। अस्तित्व, शरीर, सत्ता, समाज, मृत्यु, चेतना र आध्यात्मिकताजस्ता विषयलाई दार्शनिक दृष्टिकोणबाट प्रस्तुत गरिएको कृतिलाई वक्ताहरूले समकालीन नेपाली साहित्यमा गम्भीर चिन्तन र बहसको सम्भावना बोकेको पुस्तकका रूपमा व्याख्या गरेका छन्।

विमोचन समारोहमा युग पाठक, सगुना शाह र राम लोहनीले कृतिमाथि धारणा राखेका थिए। युग पाठकले पुस्तकले स्थापित निष्कर्षलाई अन्तिम सत्यका रूपमा प्रस्तुत नगरी पाठकलाई प्रश्न गर्न र आफ्नै दृष्टिकोणबाट जीवन तथा समाजलाई बुझ्न प्रेरित गर्ने बताए। उनका अनुसार कृतिका निबन्धले बौद्धिक बहसभन्दा पर पुगेर पाठकको अनुभूति र चेतनालाई समेत स्पर्श गर्छन्।

सगुना शाहले पुस्तकको भावनात्मक तथा दार्शनिक गहिराइको प्रशंसा गर्दै यसमा पाठकले आफ्नै जीवन र अस्तित्वका अनुभूति भेट्टाउन सक्ने बताइन्। विशेषगरी मृत्यु, महिला अस्तित्व र समानतासम्बन्धी विचारले आफूलाई गहिरो रूपमा प्रभावित गरेको उनको भनाइ थियो।

त्यसैगरी राम लोहनीले कृतिमा आध्यात्मिक खोज र स्वत्वको पहिचानसम्बन्धी चिन्तन सशक्त रहेको उल्लेख गरे। पुस्तकका विषयवस्तु र शीर्षकले पाठकलाई रोकेर सोच्न बाध्य बनाउने उनले बताए।

वक्ताहरूले रोशीको काव्यात्मक भाषा, दार्शनिक गहिराइ र प्रश्न गर्ने शैलीको प्रशंसा गर्दै कृतिले समकालीन समाजसँग संवाद गर्ने धारणा व्यक्त गरे। शिक्षा बुक्सद्वारा प्रकाशित ‘भगः एक मौन ब्रह्माण्ड’को मूल्य ६९५ रुपैयाँ रहेको छ।