‘नेशन्स गट ट्यालेन्ट–३’को मेगा अडिसनमा १८० बालप्रतिभा


ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ असोज

सातदेखि १३ वर्ष उमेर समूहका बालबालिकाको प्रतिभा खोजीमा आधारित रियालिटी शो ‘नेशन्स गट ट्यालेन्ट सिजन–३’को मेगा अडिसन चरणमा १८० बालप्रतिभा प्रवेश गरेका छन् । विभिन्न स्थानीय तहमा गरिएको अडिसनबाट छनोट भएका उनीहरूले अब मेगा अडिसनमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै टेलिभिजन राउन्डका लागि स्थान बनाउने प्रतिस्पर्धा गरिरहेका छन् ।

एएनपी मिडिया हाउसको आयोजनामा सञ्चालन भइरहेको शोका लागि गत वैशाखदेखि विभिन्न स्थानीय तहमा अडिसन गरिएको थियो । ती अडिसनमा करिब चार सय बालबालिकाले सहभागिता जनाएका थिए । स्थानीय चरण पार गर्दै १८० जना मेगा अडिसनका लागि छनोट भएका हुन् ।

‘नेशन्स गट ट्यालेन्ट सिजन–३ किड्स डान्स’को मेगा अडिसन बिहीबारदेखि ओएसआर रियालिटी युट्युब च्यानलमार्फत सार्वजनिक हुन थालेको छ । एपीवान स्टुडियोमा छायांकन गरिएको मेगा अडिसनमा निर्देशक तथा कोरियोग्राफर केशव राज भट्ट, कलाकार तथा मोडल राज टाइगर र मोडल कविता न्यौपाने निर्णायकका रूपमा रहेका छन् ।

मेगा अडिसनपछि प्रतिस्पर्धीको संख्या थप घटाइनेछ । आयोजकका अनुसार १८० जनामध्ये ८० जना मात्र टेलिभिजन राउन्डमा प्रवेश गर्नेछन् । एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लबबहादुर कार्कीका अनुसार निर्णायकको छनोटबाट ६० जना र दर्शकको भोटिङबाट २० जना गरी ८० बालप्रतिभा छनोट गरिनेछन् ।

यससँगै स्थानीय तहबाट सुरु भएको प्रतिभा खोजी अब निर्णायकको मूल्यांकन र दर्शकको मतमार्फत अघि बढ्नेछ । टेलिभिजन राउन्डमा पुग्न बालप्रतिभाले आफ्नो नृत्य क्षमता प्रस्तुतिसँगै दर्शकको समर्थनसमेत हासिल गर्नुपर्नेछ ।

प्रनीमा दाहालले सञ्चालन गरिरहेको शोमा शम्भु प्रसाद रेग्मी संयोजक, अनीता तामाङ प्रशासन प्रमुख तथा लोमशबहादुर कार्की र लबिसकुमार कार्की इभेन्ट म्यानेजरका रूपमा रहेका छन् । स्थानीय तहदेखि सुरु भएको ‘नेशन्स गट ट्यालेन्ट–३’ अब मेगा अडिसन पार गर्दै मुख्य टेलिभिजन प्रतिस्पर्धातर्फ अघि बढेको छ ।