बाटुलो जुनको छायांकन क्रमको दृष्य आएपछि निर्माण पक्षको यस्तो आपत्ती


ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ असोज

नेपाली चलचित्र ‘बाटुलो जून’को छायाङ्कनका क्रममा खिचिएका दृश्यहरू निर्माण पक्षको अनुमति र स्वीकृतिबिना सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यममा सार्वजनिक नगर्न सनराइज पिक्चर्स प्रालिले आग्रह गरेको छ। चलचित्रको छायाङ्कनका क्रममा खिचिएका विभिन्न दृश्यहरू सार्वजनिक हुन थालेपछि निर्माण पक्षले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो।

निर्माण पक्षले प्रतिलिपि अधिकार ऐन, २०५९ तथा प्रचलित कानुनी व्यवस्थाअनुसार चलचित्र र त्यससँग सम्बन्धित संरक्षित सामग्रीको अनधिकृत प्रयोग कानुनी कारबाहीको विषय बन्न सक्ने जनाएको छ। सामग्रीको प्रकृति, अधिकार र प्रयोगको अवस्थाअनुसार सम्बन्धित व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढाउन सकिने भएकाले यस विषयमा सचेत रहन पनि आग्रह गरिएको छ।

निर्माण पक्षका अनुसार चलचित्रको छायाङ्कनका क्रममा खिचिएका दृश्यहरू चलचित्रको प्रचारप्रसार, कथावस्तुको गोपनीयता र व्यावसायिक रणनीतिसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन्। अनुमति नलिई यस्ता दृश्यहरू रेकर्ड गर्ने, सार्वजनिक गर्ने, पुनः अपलोड गर्ने वा विभिन्न डिजिटल माध्यमबाट प्रसारण गर्ने कार्यले चलचित्रको प्रचार योजनामा असर पार्नुका साथै सिर्जनात्मक कार्य र प्रतिलिपि अधिकारको समेत उल्लङ्घन हुन सक्ने विज्ञप्तिमा उल्लेख छ।

सनराइज पिक्चर्स प्रालिले ‘बाटुलो जून’को छायाङ्कनका क्रममा खिचिएका दृश्यहरू निर्माण पक्षको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जाल वा अन्य कुनै माध्यममा सार्वजनिक नगर्न, अनधिकृत रूपमा सार्वजनिक गरिएका दृश्यहरू तत्काल हटाउन तथा आगामी दिनमा त्यस्ता सामग्री पुनः अपलोड वा प्रसारण नगर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ। उक्त अनुरोधलाई बेवास्ता गरी सामग्री सार्वजनिक गर्ने कार्य निरन्तर भएमा उपलब्ध प्रमाणका आधारमा प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने निर्माण पक्षले स्पष्ट पारेको छ।

चलचित्र सामूहिक सिर्जनात्मक प्रयासको परिणाम भएको उल्लेख गर्दै निर्माण पक्षले यसको संरक्षण र प्रवर्द्धनमा दर्शक, सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको सकारात्मक सहयोग अपेक्षा गरेको छ। चलचित्रसँग सम्बन्धित आधिकारिक सामग्री सार्वजनिक गर्ने, प्रचारप्रसारको समय र स्वरूप निर्धारण गर्ने तथा सिर्जनात्मक पक्षको संरक्षण गर्ने अधिकार निर्माण पक्षमा निहित रहेको विज्ञप्तिमा जनाइएको छ।

सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘बाटुलो जून’ आगामी कात्तिक २८ गतेदेखि देशभरका सिनेमा घरमा प्रदर्शनमा आउनेछ। निर्माण पक्षले चलचित्रको आधिकारिक सामग्रीमार्फत प्रचारप्रसारमा सहयोग गरिदिन सबैसँग आग्रह गरेको छ।