ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ असोज
हरेक पटक प्रेममा असफल भए पनि नयाँ प्रेमिकासँग प्रेम गर्ने अवसर पाइरहेका काजी यसपटक नयाँ मैयाँसँगको सम्बन्धका कारण चर्चामा छन्। रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’को ट्रेलर सार्वजनिक भएसँगै काजीको प्रेम, विवाह र पारिवारिक जीवनलाई लिएर दर्शकमाझ उत्सुकता बढेको छ।
मंगलबार काठमाडौँमा सार्वजनिक गरिएको ट्रेलरमा दयाहाङ राईले निर्वाह गरेको काजीको भूमिकालाई नयाँ परिस्थितिमा प्रस्तुत गरिएको छ। यसपटक सिर्जना गुरुङ नयाँ मैयाँका रूपमा देखिएकी छन्। ट्रेलरमा थकाली पहिरनमा सजिएकी, हातमा बेँडामा फर्सी झुन्ड्याएकी र झोला बोकेकी मैयाँ काजीको पछि लागिरहेको दृश्यले उनीहरूको सम्बन्धमा नयाँ मोड आएको सङ्केत गर्छ। उनको हाउभाउ र प्रस्तुतिले माइतबाट श्रीमान्सँग घर फर्किरहेकी महिलाको झल्को दिन्छ। यसले काजी र नयाँ मैयाँबीच विवाह भएको हुन सक्ने अनुमानलाई बल पुर्याएको छ।
‘कबड्डी’ शृङ्खलामा काजीको प्रेम जीवन सधैँ चर्चाको विषय बन्दै आएको छ। यसपटक भने प्रेम सम्बन्धसँगै वैवाहिक जीवनलाई पनि कथाको महत्त्वपूर्ण पाटो बनाइएको ट्रेलरले देखाउँछ। काजीको जीवनमा आएको यो परिवर्तनले शृङ्खलाको कथालाई नयाँ दिशामा अघि बढाएको सङ्केत गर्छ।
ट्रेलरमा बेरोजगारीबाट दिक्क भएका काजी, बीके र छन्त्यालले मुस्ताङमा शान्ति होटल सञ्चालन गरेर नयाँ व्यवसाय सुरु गरेको देखाइएको छ। तर, व्यवसायसँगै उनीहरूको जीवनमा नयाँ समस्या र घटनाक्रम थपिन्छन्। सिर्जना गुरुङको नयाँ मैयाँ पात्रसँग काजीको सम्बन्ध, गाउँमा प्रवेश गर्ने विपिन कार्कीको रैथाने गुन्डा समूह र यी पात्रबीचको टकरावले चलचित्रमा कमेडी, एक्सन र पारिवारिक उतारचढावलाई एकसाथ अघि बढाएको देखिन्छ।
यसअघि सार्वजनिक टिजरमा रहस्यमय रूपमा प्रस्तुत गरिएका विपिन कार्कीको भूमिकालाई ट्रेलरमा थप स्पष्ट पारिएको छ। उनको प्रवेशले कथामा नयाँ द्वन्द्व सिर्जना गर्ने सङ्केत गर्छ। काजीको टोली र विपिनको समूहबीच हुने टकरावले चलचित्रलाई थप मनोरञ्जनात्मक बनाउने अपेक्षा गर्न सकिन्छ। ट्रेलरको अन्त्यतिर काजी र मैयाँ एउटै गाडीमा कतै गइरहेको दृश्यले उनीहरूको सम्बन्धको आगामी मोडबारे दर्शकमा थप कौतुहलता जगाएको छ।
टिजर सार्वजनिक भएपछि दर्शकले मिरुना मगरले निर्वाह गरेको शान्ति मिसको भूमिकालाई लिएर पनि चासो व्यक्त गरेका थिए। ट्रेलरमा मिरुना पनि देखिएकी छन्। काजीको वैवाहिक जीवन, शान्ति मिसको उपस्थिति र विपिन कार्कीको नयाँ भूमिकाले कथामा एकपछि अर्को मोड आउने सङ्केत गरेका छन्।
‘कबड्डी’ शृङ्खलाका अघिल्ला चार चलचित्रले दर्शकको उल्लेख्य साथ पाएका थिए। त्यही लोकप्रियतालाई निरन्तरता दिने अपेक्षासहित निर्माण गरिएको ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ यस वर्षको प्रतीक्षित नेपाली चलचित्रमध्ये एक हो। चलचित्र आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछ।
चलचित्रमा दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंको अभिनय रहेको छ।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा निर्देशक रामबाबु गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी रहेको छ। सागर राज कार्यकारी निर्माता रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायाङ्कन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ। चलचित्रलाई नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले वितरण गर्नेछन् भने अन्तर्राष्ट्रिय वितरणको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले सम्हालेको छ।









