‘पाँच पाण्डव’को पहिलो ट्रेलर सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ असोज

आगामी तिहारलाई लक्षित गर्दै प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पाँच पाण्डव’को पहिलो ट्रेलर सार्वजनिक भएको छ। निर्देशक वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्रको ट्रेलरले महाभारतका पाँच पाण्डवका विम्बमार्फत समकालीन नेपाली समाजका घटना र प्रवृत्तिलाई प्रस्तुत गर्ने संकेत गरेको छ।

ट्रेलरमा आफूलाई स्वर्गबाट आएको बताउने युधिष्ठिरले भीम, अर्जुन, नकुल र सहदेवको खोजी गरेको देखिन्छ। आन्दोलन, दमन, यातना र अपराधका दृश्यसँगै द्रौपदीको आकर्षणमा युधिष्ठिर मोहित भएको प्रसङ्गले चलचित्रको कथाप्रति दर्शकमा उत्सुकता बढाएको छ। यद्यपि, निर्माण पक्षले कथाको पूर्ण खुलासा गरेको छैन।

चलचित्रमा युधिष्ठिरको भूमिकामा हरिवंश आचार्य, भीममा जितु नेपाल, अर्जुनमा आर्यन सिग्देल, नकुलमा महेश त्रिपाठी र सहदेवमा सुशील सिटौला छन्। द्रौपदीको भूमिकामा इभा गिरी देखिएकी छन्। साथै, दीपाश्री निरौला, सरिता गिरी, प्रशान्त ताम्राकारलगायत कलाकारको अभिनय रहेको छ। काली रानी फिल्मस्को ब्यानरमा निर्मित चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। चलचित्र कात्तिक २० गतेदेखि प्रदर्शनमा आउनेछ।