ओहायोमा ‘डान्स विथ रुपेश’ ग्लोबल डान्स स्टुडियोको भव्य उद्घाटन


ब्युटी न्युज नेपाल

ओहायो (अमेरिका), २१ सेप्टेम्बर

अमेरिकाको ओहायोस्थित फेयरफिल्डमा नेपाली कला, संस्कृति र नृत्यको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले स्थापना गरिएको ‘डान्स विथ रुपेश–ग्लोबल डान्स स्टुडियो’को भव्य उद्घाटन सम्पन्न भएको छ।

आइतबार, सेप्टेम्बर २० मा आयोजित समारोहमा फेयरफिल्ड सिटीकी उपमेयर डेबी पेनिङटन, विशेष अतिथि डीलाना डेभनपोर्ट र भुटानीज कम्युनिटी अफ सिन्सिनाटीका अध्यक्ष पुष्प लुईटेलले संयुक्त रूपमा रिबन काटेर स्टुडियोको उद्घाटन गरेका थिए। स्टुडियोका संस्थापक तथा वरिष्ठ नृत्य निर्देशक रुपेश उप्रेतीले दीप प्रज्वलन गरेसँगै उद्घाटन कार्यक्रम औपचारिक रूपमा अघि बढेको थियो।

समारोहलाई सम्बोधन गर्दै उपमेयर पेनिङटनले नेपाली समुदायले कला र व्यवसायको क्षेत्रमा अघि सारेको पहलको प्रशंसा गर्दै स्टुडियोको सफलताको शुभकामना दिइन्। उनले स्थानीय तहबाट आवश्यक सहयोग र साथ रहने प्रतिबद्धतासमेत व्यक्त गरिन्।

त्यस्तै, ‘लङभाइभ ननप्रफिट’की संस्थापक तथा केयरसोर्सकी एसोसिएट भाइस प्रेसिडेन्ट डा. भर्जिनिया स्कटले स्टुडियोका विद्यार्थीहरूको नृत्य प्रस्तुति र अनुशासनको प्रशंसा गरिन्। उनले आगामी आफ्ना विभिन्न कार्यक्रमहरूमा स्टुडियोका कलाकारलाई सहभागी गराउने घोषणा पनि गरिन्।

उद्घाटन समारोहमा अमेरिकाका विभिन्न राज्यबाट आएका कलाकार, सामाजिक अभियन्ता तथा नेपाली समुदायका अगुवाहरूको उपस्थिति थियो। कार्यक्रममा इनासका विभिन्न प्रतिनिधि, वरिष्ठ चलचित्र निर्देशक गोपालचन्द्र लामिछाने, चलचित्र निर्देशक सुमन दाहाल, एकनारायण सुवेदीलगायत ३० भन्दा बढी विशिष्ट अतिथि सहभागी थिए।

कार्यक्रमको मुख्य आकर्षण स्टुडियोका विद्यार्थीहरूको सांस्कृतिक नृत्य प्रस्तुति रह्यो। सोही अवसरमा रुपेश उप्रेती र आरभ उप्रेतीको अभिनय तथा निर्देशन रहेको बहुप्रतीक्षित म्युजिक भिडियो ‘बाबा छोरा’को विशेष प्रदर्शन तथा औपचारिक सार्वजनिकसमेत गरिएको थियो। भिडियोको प्रस्तुति र नृत्यले कार्यक्रममा सहभागी दर्शक तथा अतिथिको ध्यान आकर्षित गरेको थियो।