ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ भदौ
रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा हालसम्म १ हजार ३ सय ७७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै ५ हजार ९३० जना बेपत्ता छन्।
प्राधिकरणले बिहीबार बिहान ११ बजे सार्वजनिक गरेको विवरणअनुसार बाढी तथा त्यसबाट सिर्जित विपद्मा सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा ३६४ जनाको शव भेटिएको छ। यस्तै, नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९८, रसुवामा १७८, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ। काठमाडौंमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
विपद्मा परी ३३३ जना घाइते भएका छन्। तीमध्ये २५६ जना उपचारपछि डिस्चार्ज भएका छन्। हालसम्म १३ हजार ६५६ जनाको उद्धार गरिएको छ।
उद्धार तथा राहतका लागि नेपाली सेनाले १ हजार ३४८ र सशस्त्र प्रहरी बलले २७२ उडान गरेका छन्। खोज तथा उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित २१ हजार ६३ सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्राधिकरणका अनुसार विस्थापितलाई राख्न ३७ वटा होल्डिङ सेन्टर सञ्चालनमा छन्। ती सेन्टरमा नुवाकोटमा २ हजार ६१५, रसुवामा ७७५ र धादिङमा २९५ जना रहेका छन्।
तस्बिर – बद्री थापा, ब्युटी न्युज नेपाल






