‘सारथी’को रोमान्टिक गीत ‘मयाली’ सार्वजनिक, मंसिर ११ मा प्रदर्शन हुने https://beautynewsnepal.com/37485/


ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ कात्तिक

नेपाली चलचित्र ‘सारथी’को प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले चलचित्रमा समावेश रोमान्टिक गीत ‘मयाली’ सार्वजनिक गरेको छ। प्रेमभावले भरिएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार गिरी विश्वकर्मा र गायत्री जोशीलाई रोमान्टिक नृत्य तथा अभिनयमा प्रस्तुत गरिएको छ।

म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर रहेको छ। गीतका शब्द तथा संगीत पनि प्रशान्त शिवाकोटीकै हुन्। प्रेमकथामा आधारित गीतको भिडियोमा कविराज गहतराजको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने गोपाल रायाले छायाङ्कन गरेका छन्।

गीतको संगीत संयोजनमा विभिन्न मौलिक बाजाको प्रयोग गरिएको छ। बाँसुरीमा रत्न विक, सारङ्गीमा मनीष गन्धर्व, मादलमा पोषण मगर र गितारमा पुरस्कार खड्काले साथ दिएका छन्। गीतको संगीत उत्पादन विशम आचार्यले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ मुम्बईको समिक साउन्डले गरेको हो।

कुमार गजुरेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘सारथी’ आगामी मंसिर ११ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ। चलचित्रको कथा, पटकथा तथा संवाद पनि निर्देशक गजुरेलले नै तयार पारेका हुन्।

चलचित्रमा निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुइँकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारको अभिनय रहेको छ।

किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको चलचित्रको सम्पूर्ण छायाङ्कन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो। चलचित्रका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन्।

रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ हुन्। अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सहनिर्माता रहेका छन् भने अमिर केसीले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हालेका छन्।

संकल्प भुजेलको छायाङ्कन रहेको चलचित्रको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन्। राजु खतिवडा मुख्य सहायक निर्देशक तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशकका रूपमा रहेका छन्।