ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ कात्तिक
अभिनेता हरिवंश आचार्यले चलचित्र ‘पाँच पाण्डव’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको बताएका छन्। दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै चलचित्रबारे प्रतिक्रिया लिन हल पुगेका उनले दर्शकले चलचित्र मन पराएको जानकारी दिएका हुन्।
हरिवंशका अनुसार चलचित्र हेर्न आएका दर्शकले यसको कथावस्तु र प्रस्तुतिलाई मन पराएका छन्। विशेषगरी पारिवारिक कथामा आधारित भएकाले परिवारका सबै सदस्यसँग बसेर हेर्न मिल्ने चलचित्रका रूपमा दर्शकले प्रतिक्रिया दिएको उनको भनाइ छ।
“सिनेमा हेर्न आउनुभएका दर्शकले चलचित्र राम्रो लागेको बताउनुभएको छ। हेर्ने जति दर्शकले सिनेमा मन परेको प्रतिक्रिया दिनुभएको छ,” हरिवंशले भने, “यो पारिवारिक चलचित्र हो, सबै परिवारसँग बसेर हेर्न मिल्ने सिनेमा भन्नुभएको छ।”
चलचित्र प्रदर्शनअघि धर्मसँग सम्बन्धित विषयलाई लिएर उठेको विवादबारे पनि हरिवंशले आफ्नो धारणा स्पष्ट पारेका छन्। चलचित्रमा धर्मको नाममा कुनै पनि समुदाय वा व्यक्तिलाई नराम्रो रूपमा प्रस्तुत नगरिएको उनले बताए।
“धर्मको विषयमा नराम्रो देखाउने र कसैको चित्त दुखाउने काम भएको छैन। कसैको चित्त दुखाउने काम गर्न पनि हुँदैन,” उनले भने। चलचित्र हेरेपछि दर्शकले पनि धर्मका विषयमा आपत्ति जनाउनुपर्ने कुनै प्रसंग नरहेको प्रतिक्रिया दिएको उनले जानकारी गराए।
बसन्त निरौलाको निर्देशनमा बनेको ‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन्। चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने तथा रितेश पौडेल (रितेशजंग खत्री)लगायत कलाकारको पनि अभिनय रहेको छ।
काली रानी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। उनले यसअघि गत वर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए। चलचित्रकी निर्माता काली रानी श्रेष्ठ हुन्।
सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको ‘पाँच पाण्डव’ सामाजिक विषयवस्तुमा आधारित चलचित्र हो। लेखक पौडेलका अनुसार महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा चलचित्रमा प्रस्तुत गरिएको छ।
चलचित्रको छायांकन श्याम तामाङले गरेका हुन्। सुप्रिम पराजुलीले सम्पादन तथा रङ्ग संयोजन गरेका छन् भने सम्राट बस्नेतले द्वन्द्व निर्देशन गरेका छन्। गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको ध्वनि संयोजन, सुजिल कर्माचार्यको पृष्ठभूमि संगीत तथा पुकार धिमालको दृश्य प्रभाव रहेको छ।
त्यस्तै, रोहित राज गौतम एचओपी तथा विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजरका रूपमा रहेका छन्। चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले चलचित्रलाई देशव्यापी वितरण गरेको छ।








