सुमन दाहाल/ब्युटी न्युज नेपाल
ओहायो, ४ नोभेम्बर
अमेरिकाको ओहायोस्थित फेयरफिल्डमा नेपालीभाषी भुटानी समुदायको सांस्कृतिक पहिचान र परम्परा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘दसैँ–तिहार साँझ २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। भुट्निज कम्युनिटी अफ सिन्सिनाटी (बीसीसी) को आयोजनामा अक्टोबर ३१ मा फेयरफिल्ड कम्युनिटी आर्ट्स सेन्टरमा सम्पन्न कार्यक्रममा नेपाली गीत, सङ्गीत र नृत्यका विविध प्रस्तुतिसँगै समुदायको ऐतिहासिक यात्रा र सङ्घर्ष समेटिएको गीति नाटक मुख्य आकर्षण बन्यो।
दोस्रो वर्षमा प्रवेश गरेको यस सांस्कृतिक उत्सवमा फेयरफिल्ड सहरका मेयर टिम मेयर्स प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उनले नेपालीभाषी भुटानी समुदायले स्थानीय समाजमा पुर्याएको योगदानको प्रशंसा गर्दै बीसीसीलाई प्रशंसापत्र प्रदान गरेका थिए।

बीसीसीका अध्यक्ष पुष्प लुइटेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेयर मेयर्सले भुटानी समुदायको मेहनत, सांस्कृतिक समृद्धि र सामाजिक सक्रियताको प्रशंसा गरे। यस्तो जीवन्त र सांस्कृतिक रूपमा समृद्ध समुदाय फेयरफिल्ड सहरको अभिन्न हिस्सा हुनु गौरवको विषय भएको उनको भनाइ थियो।
सोही अवसरमा मेयर मेयर्सले स्थानीय सरकारका तर्फबाट बीसीसीलाई प्रदान गरिएको प्रशंसापत्र अध्यक्ष लुइटेललाई हस्तान्तरण गरेका थिए। सामुदायिक सेवा र नगरप्रतिको योगदानको कदरस्वरूप प्रदान गरिएको उक्त सम्मानले संस्था र स्थानीय सरकारबीचको सहकार्यलाई थप महत्त्व दिएको आयोजकले जनाएको छ।

कार्यक्रममा चलचित्र निर्देशक तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) केन्टकीका सल्लाहकार सुमन दाहाल, इनास ओहायो च्याप्टरका अध्यक्ष रुपेश उप्रेती, नेपालीभाषी चर्चहरूको संस्था (एनएससीसी) का अध्यक्ष पास्टर विनोद थुलुङ, हिन्दु रिसोर्स सेन्टरका अध्यक्ष काशी घिमिरे, नेपाली भाषा तथा कला केन्द्रका अध्यक्ष तारा दाहाल, एलसीओबीका अध्यक्ष खेम रिजाल तथा सिनसिनाटी बौद्ध समाजका निवर्तमान अध्यक्ष लाक्पा तामाङलगायतको उपस्थिति थियो।
त्यसैगरी भुटानका राजनीतिक बन्दीहरूको रिहाइका लागि विश्वव्यापी अभियानसँग आबद्ध भानु खनाल र सिर्जना तिम्सिनासहित विभिन्न सामाजिक, धार्मिक तथा व्यावसायिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी चलचित्र निर्देशक सुमन दाहालले लामो समयपछि स्तरीय र जीवन्त सांस्कृतिक कार्यक्रम हेर्न पाएको भन्दै खुसी व्यक्त गरेका थिए। उनले कार्यक्रमका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै कार्यक्रमको प्रशंसा गरेका थिए।
अनुभवी सञ्चारकर्मी नरेश गौतमको उद्घोषणले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो। कार्यक्रममा डिजिटल प्रविधिको प्रयोग गर्दै पूर्वतयार गरिएको भिडियोमार्फत खडा गौतमले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए। मञ्चीय प्रस्तुतिमा आधुनिक प्रविधिको प्रयोग गरिएको यो शैलीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
गीति नाटकमा भुटानी नेपाली समुदायको इतिहास र विस्थापनको पीडा
कार्यक्रमको सबैभन्दा भावनात्मक प्रस्तुति रुपेश उप्रेतीको लेखन तथा निर्देशनमा तयार पारिएको गीति नाटक बन्यो। नेपालदेखि भुटान हुँदै अमेरिकासम्म आइपुगेको नेपालीभाषी भुटानी समुदायको ऐतिहासिक यात्रा, विस्थापन, सङ्घर्ष, पीडा, स्मृति र पुनर्स्थापनाका अनुभूतिलाई गीत, सङ्गीत, संवाद तथा अभिनयमार्फत प्रस्तुत गरिएको थियो।

समुदायले विगतमा भोगेका कठिन परिस्थिति, छुटेका आफन्त, टुटेका सम्बन्ध र नयाँ भूमिमा जीवन स्थापित गर्न गरेको सङ्घर्षलाई नाटकले मार्मिक ढङ्गले उजागर गरेको थियो। प्रस्तुतिका क्रममा कतिपय दर्शक भावुक हुँदै आँसु पुछिरहेका देखिन्थे। नाटकले आफ्नै जीवनका पुराना घटना र कठिन दिनहरूको स्मरण गराएको प्रतिक्रिया पनि दर्शकबाट आएको थियो।
उप्रेतीको मौलिक कथावस्तु, लेखन तथा निर्देशन रहेको गीति नाटकमा पृष्ठभूमि सङ्गीत, पार्श्वस्वर र संवादले कथालाई थप प्रभावशाली बनाएका थिए। यसमा आवाज थापा, संवाद थापा र शशिविक्रम थापाको योगदान रहेको थियो।
मनोरञ्जनमा मात्र सीमित नभई समुदायको सामूहिक इतिहास, पहिचान र पुस्तान्तरणको अनुभूतिलाई कलात्मक अभिव्यक्ति दिएकाले उक्त नाटकले दर्शकको विशेष ध्यान आकर्षित गरेको थियो।
गीत–सङ्गीत र नृत्यले थप्यो उत्सवको रौनक
कार्यक्रममा ग्लोबल डान्स स्टुडियोका कलाकारहरूले दसैँ–तिहार विशेष सांस्कृतिक नृत्य, नेपाली लोकनृत्य तथा मारुनी नृत्य प्रस्तुत गरेका थिए। बालबालिका, युवा तथा विभिन्न उमेर समूहका कलाकारहरूको सहभागिताले कार्यक्रममा बहुपुस्तीय सांस्कृतिक एकताको सन्देश दिएको थियो।
साङ्गीतिक प्रस्तुतितर्फ गायक, गीतकार तथा कलाकार प्रकाश घिमिरे, गायकद्वय किशोर सिवाकोटी र राम गुरुङ, मोहन तिवारी, सुरज गुरुङ तथा निश्चल अधिकारीले गीत प्रस्तुत गरेका थिए।
त्यस्तै, गायिकाहरू सारा दुवाडी, नैना आचार्य, पिंकी शर्मा, निरु राई र सम्झना ओलीका प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।
युवा गायक तथा सङ्गीतकारद्वय दिगन्त गुरुङ र दीक्षान्त गुरुङले गायनसँगै गिटारवादन प्रस्तुत गरेका थिए। वाद्यवादनतर्फ अडी गुरुङले गिटार, इन्द्र लामिछानेले तबला, सर्वजित राईले बाँसुरी तथा डेभिड ढकालले किबोर्डमार्फत साङ्गीतिक साथ दिएका थिए।
यसैगरी सिस्टर्स इन्फिनिट भाइब्स र नव डान्स इन्स्टिच्युटका कलाकारहरूले प्रस्तुत गरेका नृत्यले कार्यक्रमको आकर्षण थप बढाएका थिए। नेपाली लोकलय, परम्परागत नृत्य र आधुनिक साङ्गीतिक प्रस्तुतिको संयोजनले दर्शकलाई उत्साहित बनाएको थियो।
कार्यक्रमको सञ्चार तथा प्रचारप्रसारमा मिडिया पार्टनर एनके ब्रदर्सले सहयोग गरेको थियो।
नयाँ पुस्तामा सांस्कृतिक पहिचान हस्तान्तरण गर्ने लक्ष्य
कार्यक्रममा अग्रज पुस्तादेखि अमेरिकामै हुर्किरहेका बालबालिका तथा युवासम्मको उत्साहजनक सहभागिता थियो। पुराना पुस्ताले जोगाउँदै आएको नेपाली भाषा, कला, गीत, सङ्गीत र संस्कृतिलाई नयाँ पुस्ताले आफ्नो प्रतिभा र सिर्जनशीलतामार्फत निरन्तरता दिइरहेको दृश्यले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो।
समारोहको समापनमा बीसीसीका अध्यक्ष पुष्प लुइटेलले कार्यक्रम सफल बनाउन योगदान पुर्याउने कलाकार, स्वयंसेवक, सहयोगी संस्था, प्रायोजक, अतिथि तथा सहभागी सबैप्रति आभार व्यक्त गरेका थिए।
उनले अग्रज पुस्ताले अनेकौँ चुनौती र भौगोलिक सीमाना पार गर्दै जोगाएको सांस्कृतिक विरासतलाई नयाँ पुस्ताले आफ्नो प्रतिभा र सिर्जनशीलतामार्फत अमेरिकी समाजको साझा सांस्कृतिक पहिचानमा जोडिरहेको बताए।
अध्यक्ष लुइटेलले सांस्कृतिक पहिचानको संरक्षणसँगै विभिन्न समुदायबीच आपसी सम्बन्ध, सहकार्य र सम्मान अभिवृद्धि गर्नु बीसीसीको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
फेयरफिल्डमा सम्पन्न ‘दसैँ–तिहार साँझ २०२६’ ले नेपालीभाषी भुटानी समुदायको ऐतिहासिक स्मृति, सांस्कृतिक पहिचान र नयाँ पुस्ताको सिर्जनशीलतालाई एउटै मञ्चमा जोडेको छ। आफ्नो मौलिक संस्कृति जोगाउँदै अमेरिकी समाजमा समेत योगदान पुर्याइरहेको समुदायका लागि यो उत्सव सांस्कृतिक एकता, सहकार्य र पुस्तान्तरणको महत्त्वपूर्ण उदाहरण बनेको छ।








