ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ कात्तिक
आगामी मंसिर ११ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘जलाकी’को रोमान्टिक गीत ‘पहिलो माया’ सार्वजनिक गरिएको छ। प्रेमभावले भरिएको यस गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सोनम तोप्देन र उपासना सिंह ठकुरीको जोडी आकर्षक देखिएको छ।
सरित रायनको संगीत तथा कम्पोज रहेको गीतमा राम अबिरल बिष्टको शब्द रचना रहेको छ। गीतमा रोहित सोनार र मेलिना राईको स्वर सुन्न सकिन्छ।
सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, राजु रेग्मी मगर, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू र दीपिका मगर प्रस्तुत छन्। प्रेमी–प्रेमिकाबीचको गहिरो प्रेम, आकर्षण र आत्मीयतालाई प्रस्तुत गरिएको भिडियोमा सोनम र उपासनाको जोडी सुहाएको देखिन्छ। अन्य कलाकारहरूको पहिरन र हाउभाउले पनि गीतको भावलाई थप आकर्षक बनाएको छ।
‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको चलचित्र ‘जलाकी’का यसअघि ‘चाँदी जलप’, ‘जाले रुमाल मायालाई’ र ‘कलेजीको छेउ’ बोलका गीत सार्वजनिक भइसकेका छन्। यी गीतले युट्युब तथा टिकटकजस्ता सामाजिक सञ्जालमा दर्शकबाट राम्रो प्रतिक्रिया पाएका छन्।
‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाबाट निर्मित स्तम्भलाई जनाउने शब्द हो। निर्देशक मगरका अनुसार यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावनात्मक पक्षलाई चलचित्रको कथामा समेटिएको छ।
चलचित्रमा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिनलगायतको अभिनय रहेको छ। विशेष भूमिकामा क्याप्टेन विजय लामा देखिनेछन्। त्यस्तै, बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनाहा मगर रहेका छन्। यसै चलचित्रमार्फत मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी छन्।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माताहरूमा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर र सुस्मिता बुढाथोकी रहेका छन्।
चलचित्र ‘जलाकी’को वितरण गोविन्द शाहीको काफिया फिल्मस् र कुबेर सिने डिष्ट्रिब्युसनले गर्नेछन्।








