ब्युटी न्युज नेपाल
काठमाडौँ, २० कात्तिक
नेपाली चलचित्रका दुई लोकप्रिय अभिनेता पल शाह र प्रदीप खड्का फेरि एउटै चलचित्रमा देखिने भएका छन्। कृषा चौलागाईंको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘उही तिम्रो’मा यी दुई अभिनेताले मुख्य भूमिकामा अभिनय गर्ने भएका हुन्। केपी फिल्म्स र पुरुषोत्तम फिल्म्सको संयुक्त निर्माणमा बन्न लागेको चलचित्रको बिहीबार विधिवत् पूजा गर्दै शुभमुहूर्त गरिएको छ।
यसअघि दिनेश राउत निर्देशित चलचित्र ‘पुजार सार्की’मा एकसाथ अभिनय गरेका पल र प्रदीप लामो समयपछि पुनः एउटै पर्दामा देखिन लागेका हुन्। चलचित्रको शुभमुहूर्त कार्यक्रममा दुवै अभिनेताले फेरि सँगै काम गर्न पाउँदा खुसी लागेको बताएका छन्।
चलचित्रमा पल र प्रदीपसँगै अभिनेत्री सिम्रन पन्तको पनि मुख्य भूमिका रहनेछ। यसै चलचित्रमार्फत जुना विश्वकर्माले अभिनेत्रीका रूपमा चलचित्र क्षेत्रमा डेब्यु गर्दैछिन्। उनीहरूका अतिरिक्त लक्ष्मी गिरी, राजाराम पौडेल, लक्ष्मीनाथ तिमल्सिना र सुरज तमुलगायत कलाकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ।
आगामी मंसिर १ गतेदेखि म्याग्दीका रमणीय स्थानबाट चलचित्रको छायांकन सुरु गरिनेछ। त्यसपछि काभ्रेको बनेपामा पनि चलचित्रका विभिन्न दृश्य खिचिने निर्देशक कृषा चौलागाईंले जानकारी दिएकी छन्।

चलचित्रको कथा तथा संवाद अभिमन्यु निरवीले लेखेका हुन्। पुरुषोत्तम प्रधानले छायांकन गर्ने चलचित्रमा सुरेश अधिकारी, राजनराज शिवाकोटी र हर्क साउदको संगीत रहनेछ। मुख्य सहायक निर्देशकमा वसन्त अधिकारी छन् भने सविन ढुङ्गाना फाइनान्स म्यानेजर र रविन बख्रेल प्रोडक्सन म्यानेजरका रूपमा रहेका छन्।
विशाल चौलागाईंको निर्माण रहने चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ। यसको वितरण जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठले सम्हाल्नेछन् भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहने निर्देशक चौलागाईंले बताएकी छन्।चलचित्र आगामी नयाँ वर्षलाई लक्षित गर्दै प्रदर्शनमा ल्याउने तयारी निर्माण पक्षको छ।







