‘सिन्दुरे जात्रा’को गीतमा अञ्जना र विजयको आकर्षक नृत्य


ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ कात्तिक

चलचित्र ‘सिन्दुरे जात्रा’को नयाँ गीत ‘बाँसैको सुप्लाखे’ सार्वजनिक भएको छ। प्रेमिल भाव समेटिएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विजय बराल र अञ्जना बराइली आकर्षक नृत्य गर्दै प्रस्तुत भएका छन्।

प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर रहेको गीतमा सुरज गैरे विवशको शब्द तथा प्रशान्त सिवाकोटीकै संगीत छ। प्रेम, लज्जा, इसारा, विश्वास र समर्पणलाई गीतले सुन्दर ढंगले प्रस्तुत गरेको छ।

प्रेममा रहेका युवा–युवतीले एकअर्काप्रति व्यक्त गर्ने मनका भावना, आँखाबाटै पोखिने प्रेम र इसारै इसारामा साटिने मायालाई गीतमा समेटिएको छ। आफ्नो मनको कुरा सुटुक्क व्यक्त गर्दै जीवन एकअर्कालाई समर्पण गर्ने प्रेमिल जोडीको भाव गीतमा देखाइएको छ।

गीतको भिडियोमा विजय र अञ्जनाको आकर्षक नृत्य देख्न सकिन्छ। यसअघि अभिनयमार्फत दर्शकको मन जितेको यो जोडीले यसपटक नृत्यमार्फत पनि आफ्नो कला प्रस्तुत गरेको छ।

सरोज पौडेलको निर्देशनमा निर्माण भएको ‘सिन्दुरे जात्रा’मा विजय बराल र अञ्जना बराइलीको जोडी मुख्य आकर्षणका रूपमा रहेको छ। नेपाली चलचित्रको बक्सअफिसमा सफल जोडीका रूपमा स्थापित यी दुई कलाकारको यो दोस्रो सहकार्य हो। यसअघि उनीहरूले नेपाली चलचित्र इतिहासकै सफल चलचित्रमध्ये एक ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै अभिनय गरेका थिए।

चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय रहेको छ।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रको कथा निर्देशक पौडेल स्वयंले तयार पारेका हुन्।

सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन्। राकेश खड्का र श्याम मगर सह–निर्माता तथा सुमन रञ्जित एसोसिएट निर्माता रहेका छन्। अनिश अधिकारीले लाइन निर्माताको जिम्मेवारी सम्हालेका छन् भने दिनेश खड्का कार्यकारी निर्माता छन्।

चलचित्रको छायांकन पदमबहादुर श्रेष्ठ (बाबु)ले गरेका हुन्। सुरेन्द्र पौडेल सम्पादक तथा विशाल घिमिरे क्रिएटिभ निर्देशकका रूपमा रहेका छन्। चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहेको छ।

आगामी मंसिर १८ गते प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको वितरण जिम्मेवारी नेसनल सिने ग्रुप नेपालले सम्हालेको छ। बिग मुभिज थिएटर पार्टनर तथा ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा रहेका छन्।