रुचाइयो चलचित्र ‘ककाकिकी’को अँग्रेजी भर्सनको लिरिकल गीत


ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ साउन

नेपाली चलचित्र ‘ककाकिकी’ आगामी १९ भदौबाट चलचित्र घरहरुमा रिलिज हुँदैछ । यसैबिच तीन दिन अघि यो चलचित्रको लिरिकल अवधारणा गीत ककाकिकी… सार्वजनिक गरियो । बुधबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीत अरु भन्दा फरक छ । किनकी अहिलेका र्याप जनराका पुस्तालाई लक्षित गरेर यो गीत र्याप शैलीमा ब्लुजको कलरमा अँग्रेजी भाषामा तयार गरिएको छ । लक्षित वर्गका दर्शकले यो र्याप गीत र भिडियो रुचाएका छन् । यो शीर्ष गीतमा आदित्य प्रधानको स्वरसँगै शिशिर थतालको शब्द र संगीत रहेको छ ।

विशेषगरी चलचित्रका मुख्य कलाकार अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र अभिनेता महेश त्रिपाठीका स्याडो क्यारेक्टरको रुपमा यो गीतको लिरिकल भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोमा प्रस्तुत क्यारेक्टर लुक्सले दर्शकको ध्यान तान्ने देखिन्छ । यसका पात्रको लवाज हेर्दा ककाकिकी फरक स्वाद, फरक प्रस्तुति र नयाँ कथावस्तुमा बनेको नेपाली चलचित्र हो भन्ने दर्शकको बुझाई छ ।

यो चलचित्रका अन्य कलाकारमा दिया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल, एलिसा भोगलगायत छन् । बिक्की अगरवाल र श्रद्धा प्रसाईँको संयुक्त निर्देशन रहेको फिल्ममा अनीश बुढाथोकी सहायक निर्देशकका रूपमा रहेका छन्। यो चलचित्र सुमन अगरवालको कन्सेप्टमा निर्माण भएको हो ।

चलचित्र ककाकिकीको कथा तथा पटकथा लेखन बिक्की अगरवाल, विकास अर्याल, सरोज भण्डारी र विश्वास तिमल्सिनाले गरेका हुन्। यसको छायांकन सुदीप बरालको टोलीले गरेको हो भने प्रचार सामग्री डिजाइन ट्राइडेन्ट कन्सेप्ट र डिजाइन कार्यालयले गरेको छ ।