निरुताको फरक र गम्भीर अवतारमा ‘सारथी’को प्रोमो सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ असोज

अभिनेत्री निरुता सिंहलाई यसअघि देखिएका भूमिकाभन्दा फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै चलचित्र ‘सारथी’को प्रोमो सार्वजनिक गरिएको छ। किम्भे प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको प्रोमोले चलचित्रको कथावस्तुप्रति दर्शकको उत्सुकता बढाएको छ।

बच्चाको रोदन सुनिने दृश्यबाट सुरु हुने प्रोमोमा निरुतालाई काखमा दुधे बालक बोकेको अवस्थामा देखाइएको छ। गम्भीर भावमा प्रस्तुत भएकी उनको पैतालाबाट रगत बगिरहेको दृश्यले प्रोमोलाई थप रहस्यमय बनाएको छ। संवादभन्दा दृश्य र भावभङ्गिमालाई प्राथमिकता दिइएको प्रोमोले निरुताको भूमिकाबारे विभिन्न प्रश्न उब्जाएको छ। उनको यो नयाँ अवतारले चलचित्रप्रति दर्शकको चासो बढाउने अपेक्षा गरिएको छ।

कुमार गजुरेलको निर्देशनमा बनेको ‘सारथी’ आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रमा निरुता सिंहसँगै उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीको अभिनय रहेको छ।

संकल्प भुजेलको छायाङ्कन रहेको चलचित्रको छायाङ्कन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो। किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन्।

रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ हुन्। अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सहनिर्माता रहेको चलचित्रमा अमीर केसीले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हालेका छन्।

राजु खतिवडा मुख्य सहायक निर्देशक रहेको चलचित्रमा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशकका रूपमा छन्। बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको ‘सारथी’लाई आरआर फिल्म्सले वितरण गर्नेछ।