आमाछोराको भावनात्मक कथामा ‘आ बाट आमा २’, ट्रेलरले जित्यो दर्शकको मन


ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ असोज

आमाछोराबीचको आत्मीय सम्बन्ध, पारिवारिक माया र संघर्षलाई प्रस्तुत गरिएको चलचित्र ‘आ बाट आमा २’ को ट्रेलरले दर्शकको ध्यान खिचेको छ। सार्वजनिक भएको १३ घण्टामै ट्रेलरले युट्युबमा १६ लाखभन्दा बढी पटक हेरिएको र ट्रेन्डिङको तेस्रो स्थानमा पुगेको निर्माण पक्षले जनाएको छ।

ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ४ मिनेट ५९ सेकेन्ड लामो ट्रेलरमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। ट्रेलरमा २२ हजारभन्दा बढी लाइक र २ हजार ५०० भन्दा बढी प्रतिक्रिया आएका छन्। विशेषगरी पल शाह र मलिका महतको जोडी, विपना थापाको अभिनय तथा कथामा प्रस्तुत भावनात्मक पक्षलाई दर्शकले रुचाएका छन्।

ट्रेलरमा समावेश एउटा दृश्यले दर्शकको मन छुन्छ। गाडीले कुकुरको बच्चालाई किच्न खोज्दा पल शाहले निर्वाह गरेको कृष्णको पात्रले त्यसलाई बचाउँछ। आफ्नो बच्चा जोगाउन छटपटाइरहेको कुकुरको पीडा कसैले नबुझे पनि कृष्णले त्यसलाई बचाएको दृश्यले मानवीय संवेदना र करुणाको सन्देश दिएको छ।

चलचित्रमा आमाको भूमिकामा देखिएकी विपना थापा र साइग्रेस पोखरेलको प्रस्तुतिलाई पनि दर्शकले मन पराएका छन्। मलिका महत आधाको भूमिकामा देखिएकी छन्। त्यस्तै, आकाश श्रेष्ठको भूमिकालाई लिएर दर्शकले विभिन्न अनुमान गरेका छन्। गजित विष्ट ग्यारेज सञ्चालकको भूमिकामा देखिएका छन्। आर्थिक अभावका कारण भगवान्सँग एक लाख रुपैयाँ माग्दै हात जोडेको दृश्यले पात्रको बाध्यता र निराशालाई चित्रण गर्छ।

ट्रेलरमा आमाबुबाले सन्तानप्रति गर्ने निःस्वार्थ माया र सन्तानले आमाबुबाप्रति देखाउने प्रेमलाई भावनात्मक ढङ्गले प्रस्तुत गरिएको छ। पारिवारिक सम्बन्ध र जीवनका कठिन परिस्थितिलाई केन्द्रमा राखिएको चलचित्रको ट्रेलर सार्वजनिक भएपछि निर्माण टोली पनि उत्साहित देखिएको छ।

चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको चलचित्रको लेखनमा रोशन भट्टले सहकार्य गरेका छन्। चलचित्रमा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलीप अखेडालगायत कलाकारको अभिनय छ। संवाद लेखनको जिम्मेवारी पनि रोशन भट्टले सम्हालेका छन्।

करण सिंह फिल्मको निर्माण व्यवस्थापनमा कार्यकारी निर्माताका रूपमा आबद्ध छन्। नवराज उप्रेतीको छायाङ्कन, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रको डिजिटल साझेदार ओएसआर डिजिटल हो। नेपालभर वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ।

यसअघि प्रदर्शनमा आएको ‘आ बाट आमा’ ले घरेलु बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो। त्यसको दोस्रो शृङ्खलाका रूपमा बनेको ‘आ बाट आमा २’ आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा छ। ट्रेलरले पाएको प्रारम्भिक प्रतिक्रियाले चलचित्रप्रति दर्शकको चासो बढाएको देखिन्छ।