ब्युटी न्युज नेपाल
काठमाडौँ, २६ असोज
चलचित्र ‘बाः एक योद्धा’ले बक्स अफिसमा तीन करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको चलचित्रले प्रदर्शनको तेस्रो सातामा पनि आफ्नो व्यापारिक गति कायम राखेको हो।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार आइतबारसम्म चलचित्रले तीन करोड पाँच लाख २२ हजार ५०२ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। उक्त अवधिसम्म चलचित्र एक लाख सात हजार ५३३ जना दर्शकले हेरेका छन्। चलचित्र अहिले पनि उच्च अकुपेन्सीसहित प्रदर्शन भइरहेको जनाइएको छ। प्रदर्शनको सुरुवाती दिनदेखि नै दर्शकको साथ पाएको चलचित्रले प्रदर्शनको दश दिनमा एक करोड ९३ लाख छ हजार ४६५ रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। निर्माण पक्षले भने आइतबारसम्म चलचित्रको कुल व्यापार तीन करोड नौ लाख रुपैयाँभन्दा बढी पुगेको दाबी गरेको छ।
‘बाः एक योद्धा’ले नेपाली समाजमा सन्तानको भविष्य निर्माणका लागि बाबुले गर्ने त्याग, सङ्घर्ष र जीवनभर भोग्ने चुनौतीलाई कथाको केन्द्रमा राखेको छ। सन्तानका इच्छा पूरा गर्न आमाबाबुले गर्ने अथक प्रयासदेखि वृद्धावस्थामा उनीहरूले भोग्नुपर्ने उपेक्षा र दुःखसम्मका विषय चलचित्रमा समेटिएका छन्।
चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शबि थापालगायतका कलाकारले अभिनय गरेका छन्। हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। चलचित्रको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै रहेको छ। चलचित्रका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन्। अर्जुन पौडेलले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हालेका छन् भने कृष्ण काफ्ले सहनिर्माताका रूपमा रहेका छन्।









