ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ असोज
नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’ एपको शुभारम्भ तथा बडादशैँको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार, चलचित्रकर्मी, प्राविधिक, लेखक, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ कलाकार भुवन चन्द, चैत्यदेवी सिंह र वसुन्धरा भुसाललगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले प्राकृतिक विपत्ति तथा बुढीगण्डकी क्षेत्रमा आएको बाढीका कारण जनजीवन प्रभावित भएको प्रसङ्ग उल्लेख गर्दै यस वर्षको दशैँ सचेत र सामान्य रूपमा मनाउन आग्रह गरे। चाडपर्वमा अनावश्यक तडकभडक गर्नुभन्दा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा जोड दिनुपर्ने उनीहरूको भनाइ थियो।
विशिष्ट चलचित्रकर्मी कृष्ण मल्ल, लय संग्रौला, रविन्द्र खड्का, आकाश अधिकारी, भुवनसिंह लामा, मनोज आचार्य र घनश्याम खतिवडाले नेपाली कला, संस्कृति र चलचित्रले समाजको जनजीवनलाई प्रतिबिम्बित गर्ने धारणा व्यक्त गरे। संघका अध्यक्ष केसीले घटस्थापनाको अवसर पारेर उपस्थित सबैलाई बडादशैँको शुभकामना व्यक्त गरे।
कार्यक्रममा विभिन्न सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिसमेत राखिएको थियो। राइजिङ स्टार बोर्डिङ स्कुल र एनके डान्स ग्रुपले सामूहिक नृत्य प्रस्तुत गरेका थिए। त्यसैगरी, सविता कार्की र समृद्धि भण्डारीले दशैँ विशेष नृत्य प्रस्तुत गरे।
सांगीतिक प्रस्तुतितर्फ गायक आनन्द कार्की, राजन चौलागाईं, विनोद ढकाल, सुमित खड्का र कृष्णराज भण्डारी तथा गायिका सारिका घिमिरे र अनु गौतमले गीत प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए। सांस्कृतिक प्रस्तुतिमा सहभागी कलाकारलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने विशिष्ट चलचित्रकर्मीलाई उपहारस्वरूप कप प्रदान गरिएको थियो।
कार्यक्रममा चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दिनेश डिसी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्वअध्यक्ष तथा साहित्यकार राधेश्याम लेकाली, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, गीतकार संघका अध्यक्ष वसन्त बित्यासी थापा, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी र चलचित्रकर्मीहरूको अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष लव प्याकुरेललगायतको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन नेपाल चलचित्र कलाकार संघका सचिव गोपाल ढकाल ‘छन्दे’ले गरेका थिए।
यसै अवसरमा ‘साथी राइड’को शुभारम्भ सँगै ‘साथी राइड’ एप डाउनलोड गर्ने राइडर तथा प्रयोगकर्तामध्ये पाँच–पाँच जनालाई गोलाप्रथामार्फत पुरस्कार प्रदान गरिएको थियो। छनोट भएका राइडरलाई हेलमेट तथा प्रयोगकर्तालाई एयरबड प्रदान गरिएको आयोजकले जनाएको छ।









