ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ असोज
बालबालिकामा लुकेर रहेका प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को दसौँ संस्करणका लागि पूर्वी नेपालका विभिन्न सहरमा अडिसन भइरहेको छ। जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा हुन लागेको प्रतियोगितामा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाइरहेका छन्।
आयोजक संस्थाका अध्यक्ष जय राज रायका अनुसार प्रतियोगिताका लागि विराटनगर, इटहरी, धरान, गछिया, विराटचोक, उर्लाबारी, दमक र बिर्तामोडमा अडिसन सञ्चालन भइरहेको छ। अडिसनमा सहभागी बालबालिकाको प्रतिभा, क्षमता र प्रस्तुतिका आधारमा प्रतियोगिताको आगामी चरणका लागि छनोट गरिनेछ।
अडिसनका क्रममा ‘मिस कोशी’का विजेता, स्थानीय समाजसेवी तथा सञ्चारकर्मी निर्णायकका रूपमा सहभागी भइरहेको अध्यक्ष रायले जानकारी दिए। विभिन्न स्थानमा सञ्चालन भइरहेको छनोट प्रक्रियाले बालबालिकालाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरिरहेको उनको भनाइ छ।
अडिसनबाट छनोट भएका प्रतियोगीलाई दसैँको बिदाको समयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ। बालबालिकाको अध्ययनमा असर नपर्ने गरी प्रतियोगिताका गतिविधि सञ्चालन गरिने अध्यक्ष रायले बताए।
‘बालबालिकामा रहेको प्रतिभा उजागर गर्नुका साथै उनीहरूको आत्मविश्वास र व्यक्तित्व विकासमा सहयोग पुर्याउने उद्देश्यले हामीले प्रत्येक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएका छौँ,’ रायले भने।
प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा अर्थात् फिनाले छठ पर्वपछि आयोजना गरिने आयोजकले जनाएको छ। दसौँ संस्करणको प्रतियोगितामार्फत बालबालिकाको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि तथा सिर्जनात्मक प्रतिभालाई प्रोत्साहन गर्ने लक्ष्य आयोजकले राखेको छ।









