‘मिसेस नेपाल वर्ल्ड २०२६’का प्रतियोगी ‘द ग्ल्याम नाइट’मा प्रस्तुत


ब्युटी न्युज नेपाल
काठमाडौँ, २६ असोज

विवाहित महिलाको प्रतिभा, आत्मविश्वास र व्यक्तित्वलाई उत्सवका रूपमा प्रस्तुत गर्दै ‘ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६’का २२ प्रतियोगी ग्रान्ड फिनालेको तयारीमा जुटेका छन्। प्रतियोगितालाई थप आकर्षक बनाउने उद्देश्यले आइतबार राति आयोजित ‘द ग्ल्याम नाइट’मा उनीहरूले विभिन्न पहिरनमा र्‍याम्प वाक गर्दै आफ्नो प्रस्तुति दिएका छन्।

रिबन इन्टरटेनमेन्टले आयोजना गरेको उक्त कार्यक्रममा प्रतियोगीहरूले ब्राइडल, निभिया र गाउन सिक्वेन्समा आफ्नो सौन्दर्य, शैली र आत्मविश्वास प्रदर्शन गरे। ब्राइडल सिक्वेन्समा परम्परागत दुलही पहिरनमार्फत नेपाली संस्कृति र मौलिकता झल्काइएको थियो भने निभिया सिक्वेन्समा सौन्दर्य तथा व्यक्तिगत हेरचाहसँग सम्बन्धित ब्रान्डलाई फेसनसँग जोडिएको थियो। गाउन सिक्वेन्समा प्रतियोगीहरूले आफ्नो व्यक्तित्व र र्‍याम्पमा प्रस्तुत हुने क्षमता देखाएका थिए।

आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार विवाहित महिलाहरूको प्रतिभा उजागर गर्ने, आत्मविश्वास बढाउने र फेसन तथा व्यक्तित्व विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘द ग्ल्याम नाइट’ आयोजना गरिएको हो।

कार्यक्रममा अभिनेता राजेश हमाल, रमेश उप्रेती, प्रमोद अग्रहरी, हास्यकलाकार जितु नेपाल, अभिनेत्री रेखा थापा, पूजा शर्मा, सुपुष्पा भट्ट तथा गायक आनन्द कार्कीलगायतका कलाकार सहभागी थिए। कार्यक्रममा राजेश हमाल, रेखा थापा, पूजा शर्मा र सुपुष्पा भट्टले प्रतियोगिताका विजेताले लगाउने ताज सार्वजनिक गरेका थिए।

गायक आनन्द कार्कीले आफ्ना लोकप्रिय गीत प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरे। हास्यकलाकार जितु नेपालले समसामयिक विषयवस्तुमा व्यङ्ग्यात्मक प्रस्तुति दिँदै कार्यक्रममा हाँसो र रमाइलो थपे।

प्रतियोगिताको अन्तिम चरणमा प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन बेगम सइद, नेहा गुप्ता, दीप्ति ढुंगेल, बिन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, बिनिता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अञ्जु परियार, मोनिका तामाङ र कञ्चन महर्जनले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।

रिबन इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्दै आएको ‘मिसेस नेपाल वर्ल्ड’ विवाहित महिलाको प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्ने सौन्दर्य प्रतियोगिता हो।

प्रतियोगिताको ग्रान्ड फिनाले आगामी कात्तिक १४ गते काठमाडौँको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा हुनेछ। प्रतियोगिताकी विजेताले अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्।

अश्विनी झाको कोरियोग्राफीमा सञ्चालन हुने प्रतियोगिताबाट ‘मिसेस नेपाल इन्टरनेसनल’, ‘एमएस इन्टरनेसनल’ र ‘मिसेस कोस्मो’का विजेतासमेत चयन गरिने आयोजकले जनाएको छ। ती उपाधिका विजेताले सिङ्गापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन्।