ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ असोज
सदावहार अभिनेता भुवन केसीको निर्देशनमा निर्माण भएको चलचित्र ‘बाटुलो जून’को पहिलो गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ सार्वजनिक गरिएको छ। घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको गीतमा चलचित्रका मुख्य कलाकार अनमोल केसी र नवअभिनेत्री प्रिन्सी खतिवडालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।
युग भुसालको शब्द तथा संगीत रहेको गीतमा तृषा चटर्जी र हिमांशु जान शर्माको स्वर सुन्न सकिन्छ। गीतको भिडियोमा विक्रम स्वारको कोरियोग्राफी छ। श्रुतिमधुर संगीत र आकर्षक दृश्य संयोजनले गीतलाई विशेष बनाएको छ।
निर्माणको भव्यता र गीतको प्रस्तुतिका कारण चर्चामा रहने भुवन केसीले यस चलचित्रको गीतमा पनि आफ्नो विशिष्ट शैलीलाई निरन्तरता दिएका छन्। सामान्य गीतभन्दा फरक, ‘मेरो मन चोर्यौ सुटुक्कै’को भिडियोले चलचित्रको टिजरमा प्रस्तुत कथावस्तु र परिवेशलाई थप स्पष्ट पार्ने प्रयास गरेको छ। खोला किनार, घुम, डन्डिबियो र मकैबारीजस्ता दृश्यले दर्शकलाई पुरानो समयको सम्झना गराउँछन्।
गीतमा अनमोल र प्रिन्सीको जोडीलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ। चलचित्रको टिजर सार्वजनिक भएपछि अनमोलको लुक्समा उनका पिता भुवन केसीको झल्को आएको भन्दै दर्शकले प्रतिक्रिया दिएका थिए। गीतमा अनमोलको हाउभाउ र अभिनय शैलीले पनि भुवनका पुराना चलचित्रका गीतहरूको सम्झना गराउँछ।
यसै चलचित्रबाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी प्रिन्सीले पनि आफ्नो अभिनय क्षमता र भावभङ्गिमामार्फत दर्शकको ध्यान खिच्ने प्रयास गरेकी छन्। गीतमा उनले प्रस्तुत गरेको शैलीले पुरानो समयकी अभिनेत्री कृष्टि केसीको झल्को दिने देखिन्छ।
भुवन केसीको यो दोस्रो निर्देशकीय चलचित्र हो। चलचित्रमा अनमोल केसी र प्रिन्सी खतिवडाका अतिरिक्त भुवन केसी र गरिमा पन्तको पनि अभिनय रहेको छ।
सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको चलचित्र आगामी कात्तिक २६ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रमा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन तथा रोमन बज्राचार्यको पार्श्व संगीत रहेको छ। प्रदीप श्रेष्ठले सहनिर्देशन गरेको चलचित्रलाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन्। विवेक थापा चलचित्रका सहनिर्माता हुन्।









