ब्युटी न्युज नेपाल
काठमाडौँ, २ मंसिर
निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइका क्रममा बहस सकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा भएको सुनुवाइपछि केहीबेरमा आदेश आउने अपेक्षा गरिएको छ।
सरकारले गत १८ कात्तिकमा कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो।
सरकारको उक्त निर्णय गैरकानुनी भएको र आफू अन्यायमा परेको दाबीसहित कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। उनले आफूलाई आईजीपीको जिम्मेवारीबाट हटाउने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गरेका छन्। तिहार तथा छठ पर्वको बिदापछि मंगलबार अदालत खुलेसँगै सर्वोच्च अदालत प्रशासनले उक्त रिटमाथि प्रारम्भिक सुनुवाइका लागि आजको मिति तोकेको थियो। न्यायाधीश पौडेलको इजलासमा भएको सुनुवाइमा दुवै पक्षका कानुन व्यवसायीको बहस सकिएपछि अब अदालतको आदेशको प्रतीक्षा गरिएको छ।









