नेपाल ग्लोबल फिल्म फेस्टिभलको पहिलो संस्करणमै ५०० भन्दा बढी विदेशी फिल्मको आवेदन


ब्युटी न्युज नेपाल
काठमाडौँ, १ मंसिर

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नुका साथै नेपाललाई विदेशी चलचित्र छायांकन र चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित ‘नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७’ को तयारी तीव्र पारिएको छ। आगामी फेब्रुअरी १९ देखि २२ (फागुन ७ देखि १०) सम्म काठमाडौँमा आयोजना हुने महोत्सवको पहिलो संस्करणमै विश्वका विभिन्न देशबाट ५०० भन्दा बढी चलचित्र प्राप्त भएका छन्।

नेपाल फिल्म एण्ड मिडिया एकेडेमीको आयोजनामा हुन लागेको महोत्सवमा प्राप्त चलचित्रमध्ये करिब १०० उत्कृष्ट चलचित्र छनोट गरी चार दिनसम्म प्रदर्शन गरिनेछ। महोत्सवमा विश्वका विभिन्न देशबाट करिब १०० जना चलचित्रकर्मी, सञ्चारकर्मी तथा चलचित्र उद्योगका विशिष्ट व्यक्तित्व सहभागी हुने आयोजकले जनाएको छ।

‘हिमालदेखि सागरसम्मका कथाहरूको उत्सव’ भन्ने नारासहित आयोजना हुन लागेको महोत्सवका लागि चलचित्र छनोटको जिम्मेवारी निर्देशक सुवर्ण थापाको नेतृत्वमा गठित समितिले पाएको छ। छनोट भएका चलचित्रमध्ये उत्कृष्टलाई निर्देशक अशोक शर्माको नेतृत्वमा रहने नेपाली तथा विदेशी निर्णायक मण्डलले विभिन्न विधामा नगद पुरस्कारसहित अवार्ड प्रदान गर्नेछ।

महोत्सवका निर्देशक गणेश पाण्डेले पहिलो संस्करणमै ५०० भन्दा बढी चलचित्र प्राप्त हुनुलाई उत्साहजनक उपलब्धि भएको बताए। यसले अन्तर्राष्ट्रिय चलचित्रकर्मीमाझ नेपालमा आयोजना हुन लागेको महोत्सवप्रति आकर्षण र विश्वास बढेको उनको भनाइ छ। महोत्सवलाई नेपालकै प्रमुख अन्तर्राष्ट्रिय चलचित्र उत्सवमध्ये एक बनाउने लक्ष्यसहित काम भइरहेको उनले बताए।

महोत्सवमा फिचर, सर्ट तथा डकुमेन्ट्री चलचित्रसँगै माउन्टेन, वातावरण, मानवशास्त्र, मानवअधिकार, महिला र आदिवासी जनजातिका कथा तथा संस्कृतिमा आधारित चलचित्रलाई प्राथमिकता दिइनेछ। त्यसैगरी एनिमेसन, विद्यार्थी चलचित्र र कृत्रिम बौद्धिकता (एआई) मा आधारित चलचित्रलाई समेत समेटिने आयोजकले जनाएको छ।

महोत्सव अवधिभर चलचित्र प्रदर्शनका अतिरिक्त विशेष सम्मान, अन्तरक्रिया, कार्यशाला, प्यानल छलफल तथा अन्तर्राष्ट्रिय नेटवर्किङ कार्यक्रम सञ्चालन गरिनेछ। आयोजक समितिका सदस्य फूलमान बलका अनुसार हलिउड, बलिउड तथा चिनियाँ चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वलाई समेत अतिथिका रूपमा सहभागी गराउने तयारी भइरहेको छ।

महोत्सवले नेपाली चलचित्र, कलाकार तथा सिर्जनालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनुका साथै विदेशी निर्माता तथा निर्देशकलाई नेपालमा चलचित्र निर्माणका सम्भावनाबारे जानकारी गराउने लक्ष्य राखेको छ। यसबाट चलचित्र पर्यटन, अन्तर्राष्ट्रिय सहकार्य र विदेशी लगानीको सम्भावना विस्तार हुने अपेक्षा आयोजकको छ।

नेपालको प्राकृतिक सौन्दर्य, हिमाली भूगोल, सांस्कृतिक विविधता र मौलिक कथालाई विश्व चलचित्र क्षेत्रमा चिनाउने उद्देश्यसमेत महोत्सवले राखेको छ। युनेस्कोको ‘क्रिएटिभ सिटी अफ फिल्म’ अवधारणासँग जोड्दै काठमाडौँलाई अन्तर्राष्ट्रिय चलचित्र सिर्जना र सांस्कृतिक आदानप्रदानको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य आयोजकले लिएको छ।