ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ कात्तिक
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संघीय सांसद हर्क साम्पाङ राईले चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रममा वरिष्ठ अभिनेत्री गौरी मल्लसहितका कलाकारले गरेको गतिविधिलाई आपराधिक कार्यको संज्ञा दिएका छन्। उनले यस्तो गतिविधिमा संलग्न कलाकारलाई जेल सजायसँगै श्रमदानका रूपमा ढुङ्गा बोकाउनुपर्ने धारणा सार्वजनिक गरेका छन्।

चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रममा गौरी मल्ल, मनोज गजुरेललगायतका कलाकारलाई प्रहरीले पक्राउ गरेको दृश्य प्रस्तुत गरिएको थियो। उक्त घटनाबारे पक्राउको कारण स्पष्ट पार्न साम्पाङले सुरुमा सामाजिक सञ्जालमार्फत सरकारसँग माग गरेका थिए। तर, कलाकारहरूको पक्राउ वास्तविक नभई चलचित्रको प्रचारका लागि गरिएको प्राङ्क (नक्कली पक्राउको नाटक) भएको जानकारी पाएपछि उनले उक्त सूचनासम्बन्धी आफ्नो पोस्ट हटाएका थिए।
यद्यपि, साम्पाङले अहिले आफ्नो फेसबुक पेज ‘हर्क साम्पाङ अ रेभ्युलुसन’मार्फत अर्को धारणा सार्वजनिक गर्दै गौरी मल्ल अब प्रतिष्ठित अभिनेत्री नरहेको टिप्पणी गरेका छन्। उनले चलचित्रको प्रचारका नाममा गरिएको यस्तो गतिविधिलाई आपराधिक प्रकृतिको ठट्टा भन्दै त्यसविरुद्ध सजाय हुनुपर्ने मागसमेत गरेका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘गौरी मल्ल अब प्रतिष्ठित अभिनेत्री रहिनन्। उनले चलचित्रको प्रचारप्रसार गर्न एउटा आपराधिक प्रकृतिको ठट्टा (प्राङ्क) गरिन्। यो एक आपराधिक कार्य हो। यदि हामी सरकारमा भएको बेला यस्तो घटना घटेको भए, उनी जेल जान्थिन् र श्रमदानमा ढुङ्गा बोक्नुपर्ने हुन्थ्यो।’
शनिबार आयोजित चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकारलाई पक्राउ गरेर प्रहरी भ्यानमा राखिएको दृश्य प्रस्तुत गरिएपछि उक्त गतिविधिको सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ। चलचित्र प्रचारका लागि अपनाइएको यो शैलीलाई दर्शक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले अस्वाभाविक र आपत्तिजनक भन्दै टिप्पणी गरेका छन्।
यद्यपि, कार्यक्रमको उक्त दृश्यलाई लिएर विवाद बढिरहँदा पनि चलचित्रका निर्देशक विक्की अग्रवालले सार्वजनिक रूपमा दर्शकसँग माफी मागेका छैनन्।








