ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ कात्तिक
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टर र कागेश्वरी पुस्तकालयको संयुक्त आयोजनामा ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती विविध साहित्यिक कार्यक्रमसहित सम्पन्न भएको छ। कात्तिक २७ गते कागेश्वरी पुस्तकालय परिसरमा आयोजित कार्यक्रममा साहित्यकारहरूले देवकोटाका रचना वाचन गर्नुका साथै पुस्तकालयलाई करिब १५० थान पुस्तक हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा महाकवि देवकोटासहित हास्यव्यङ्ग्य शिरोमणि भैरव अर्याल र आख्यान शिरोमणि रमेश विकलका पूर्णकदका सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।
अनेसास नेपाल च्याप्टरकी अध्यक्ष मञ्जिला अनिल र कागेश्वरी पुस्तकालयका अध्यक्ष कुमार खड्काको संयुक्त सभापतित्वमा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य रामेश्वर फुयाँल प्रमुख अतिथि तथा त्रिभुवन विश्वविद्यालयका नेपाली विभागका पूर्वप्रमुख प्रा. डा. खगेन्द्र लुइँटेल विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा अनेसासका पूर्वकेन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ उपाध्यक्ष तारा अधिकारी, केन्द्रीय सचिव ऋषभदेव घिमिरे, साहित्यकार गोपी उप्रेतीलगायत विभिन्न साहित्यिक संस्थाका प्रतिनिधि तथा साहित्यप्रेमीहरूको उपस्थिति थियो।
कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै अध्यक्ष मञ्जिला अनिलले देवकोटाको साहित्यिक योगदान नयाँ पुस्तासम्म पुर्याउनुका साथै साहित्यिक संस्थाबीच सहकार्य र स्थानीय साहित्यिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्। सोही अवसरमा अनेसास नेपाल च्याप्टरका तर्फबाट कागेश्वरी पुस्तकालयलाई साहित्यलगायत विभिन्न विधाका करिब १५० पुस्तक प्रदान गरिएको थियो।
कार्यक्रमको काव्य वाचन सत्रमा ३० जनाभन्दा बढी साहित्यकारले कविता, गीत तथा अन्य सिर्जना प्रस्तुत गरेका थिए। उनीहरूका रचनामा देवकोटाको व्यक्तित्व, प्रकृतिप्रेम, मानवीय संवेदना, राष्ट्रचेतना र जीवनदर्शनका विविध पक्ष समेटिएका थिए।
वक्ताहरूले देवकोटाका साहित्यिक सिर्जना नेपाली भाषा र साहित्यका अमूल्य निधि भएको उल्लेख गर्दै उनका कृतिको अध्ययन, संरक्षण र प्रचारप्रसारमा सबैको साझा दायित्व रहेको धारणा राखेका थिए।
प्रमुख अतिथि फुयाँलले राष्ट्र निर्माणमा साहित्यकारहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै साहित्यले समाजमा चेतना, नैतिकता र मानवीय संवेदना विकास गर्ने उल्लेख गरे।
अनेसास नेपाल च्याप्टरकी वरिष्ठ उपाध्यक्ष कमला वलीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन महासचिव रमेश दाहालले गरेका थिए। सभापति कुमार खड्काले देवकोटासम्बन्धी कविता वाचनसहित कार्यक्रम समापन गरेका थिए।









