ब्युटी न्युज नेपाल
काठमाडौँ, २ मंसिर
अभिनेत्री उपासना सिंह ठकुरी आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘जलाकी’ मार्फत दर्शकमाझ आउँदैछिन्। यस सिनेमामा उनी ‘लिसारा’ नामक मुख्य पात्रको भूमिकामा देखिनेछिन्। प्रेम, विछोड, प्रतीक्षा र छुटेका आफन्तको सम्झनालाई मुख्य विषय बनाइएको सिनेमाले मगर समुदायको संस्कृति र भावनात्मक पक्षलाई समेत प्रस्तुत गर्नेछ।
सुदूरपश्चिमको दार्चुलामा जन्मिएकी उपासनाले सन् २०१८ अर्थात् २०७५ सालमा सिनेमा ‘क्याप्टेन’ बाट अभिनय यात्रा सुरु गरेकी हुन्। पहिलो सिनेमाबाटै दर्शकको ध्यान खिच्न सफल उनले त्यसपछि ‘कबड्डी कबड्डी कबड्डी’ मा गरेको अभिनयबाट थप चर्चा पाइन्।
‘डिसेम्बर फल्स’, ‘दुई नम्बरी’, ‘हात्तीछाप’, ‘खुस्मा’, ‘के घर के डेरा : घर नं. २’, ‘कर्मा’ र ‘माइतीघर’ लगायतका सिनेमामा अभिनय गरिसकेकी उपासनाले हरेक भूमिकामा आफूलाई फरक रूपमा प्रस्तुत गर्ने प्रयास गर्दै आएकी छन्।
विशेषगरी द्वन्द्वकालीन प्रेमकथामा आधारित सिनेमा ‘खुस्मा’ ले उनको अभिनय यात्रालाई नयाँ उचाइ दिएको थियो। उक्त सिनेमामा गरेको सशक्त अभिनयका लागि उनले राष्ट्रिय चलचित्र पुरस्कारसमेत प्राप्त गरेकी थिइन्।
‘जलाकी’ उपासनाका लागि नयाँ सिनेमा मात्र नभएर ‘खुस्मा’ का निर्देशक अशोक थापा मगर र पुरानै टिमसँगको पुनर्मिलन पनि हो। एउटै टिमसँग दोस्रोपटक काम गर्दा सेटमा परिवारसँगै बसेजस्तो आत्मीयता महसुस भएको उनी बताउँछिन्। सिनेमामा काम गर्ने क्रममा मगर समुदायको संस्कृति र महिलाप्रति गरिने सम्मानले आफूलाई प्रभावित पारेको उनको भनाइ छ।
सिनेमामा उपासनाको जोडी गायक तथा कलाकार सोनम तोप्देनसँग बाँधिएको छ। उनीहरू कलेज जीवनको अव्यक्त तथा एकतर्फी प्रेमकथामा प्रस्तुत भएका छन्।
‘जलाकी’ शब्दको अर्थबारे उपासना भन्छिन्, ‘मगर समुदायमा कसैको सम्झनामा बनाइने ढुङ्गाको स्तम्भलाई जलाकी भनिन्छ।’ उनका अनुसार यो स्तम्भ आस्था, सम्झना र मायाको प्रतीक हो। सिनेमाले पनि यही सांस्कृतिक मान्यतालाई आधार बनाएर प्रेमको फराकिलो अर्थ प्रस्तुत गरेको छ।
उपासनाका अनुसार प्रेमलाई प्रेमी–प्रेमिकाबीचको सम्बन्धमा मात्र सीमित गरेर हेर्न मिल्दैन। आमाबुबा र छोराछोरीबीचको माया, छुटेका मान्छेको सम्झना तथा कसैको प्रतीक्षामा बितिरहेको जीवन पनि प्रेमकै गहिरा रूप हुन्। ‘जलाकी’ ले यस्तै त्याग, विछोड र प्रतीक्षाका भावनात्मक पक्षलाई समेटेको उनले बताएकी छन्।
‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको यस सिनेमामा मगर र गुरुङ समुदायको संस्कृति, परम्परा, आस्था तथा भावनालाई कथाको माध्यमबाट प्रस्तुत गरिएको छ। निर्देशक मगरले समुदायको सांस्कृतिक पहिचान र परम्परासँग जोडिएको विषयलाई सिनेमाको केन्द्रमा राखिएको बताएका छन्।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिनलगायत कलाकारको अभिनय छ। क्याप्टेन विजय लामा विशेष भूमिकामा देखिनेछन्। त्यस्तै, बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनाहा मगर छन्। यसै सिनेमाबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन्।
सिनेमाका निर्माता ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर र सुस्मिता बुढाथोकी हुन्। ‘जलाकी’ को वितरण गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले गर्दैछन्।
तस्बिर : बद्री थापा, ब्युटी न्युज नेपाल








