ब्युटी न्युज नेपाल
काठमाडौँ, १ मंसिर
राणाशासनविरुद्धको संघर्षदेखि २०४६ सालको जनआन्दोलनसम्मको ऐतिहासिक राजनीतिक यात्रालाई समेटिएको नाटक ‘वीर गणेशमान’ पुनः मञ्चन हुने भएको छ। भोटेकोसीमा आएको बाढीका कारण यसअघि मञ्चन रोकिएको नाटक आगामी मंसिर ४ देखि १९ गतेसम्म कालिकास्थानस्थित सर्वनाम थिएटरमा प्रदर्शन गरिने भएको हो। पुनः मञ्चनको तयारीसँगै निर्माण पक्षले नाटकको औपचारिक ट्रेलरसमेत युट्युबमार्फत सार्वजनिक गरेको छ।
गणेशमान सिंह फाउन्डेसनको आयोजना तथा सर्वनामको प्रस्तुतिमा तयार भएको नाटकको परिकल्पना, नाट्यरूपान्तरण र निर्देशन वरिष्ठ रङ्गकर्मी अशेष मल्लले गरेका हुन्। नाटकको स्क्रिप्ट सम्पादन प्रा. डा. सावित्री कक्षपतिले गरेकी छन्।
सत्ता र शक्तिका अगाडि कहिल्यै नझुकेका प्रजातन्त्रका योद्धा गणेशमान सिंहको जीवन, संघर्ष र योगदानमा आधारित नाटकमा १०३ वर्ष लामो राणाशासनविरुद्ध नागरिक अधिकारका लागि उनले गरेको संघर्षलाई प्रस्तुत गरिएको छ। जन्मकैदको सजाय पाएपछि भद्रगोल जेलबाट भागेको ऐतिहासिक घटना र २०४६ सालको जनआन्दोलन सफल भएपछि प्रधानमन्त्री पद अस्वीकार गरेको प्रसङ्गसमेत नाटकमा समेटिएको छ।
करिब दुई घण्टा लामो नाटकमा निर्देशक मल्लले आफ्नो ५० वर्षे नाट्ययात्रामा पहिलोपटक बिम्ब र प्रतीकात्मक शैलीभन्दा फरक यथार्थपरक प्रस्तुति अपनाएका छन्। नाटकको औपचारिक ट्रेलर सार्वजनिक गरिनुलाई पनि यसको प्रचारप्रसारको फरक अभ्यासका रूपमा लिइएको छ।
नाटकमा वीर गणेशमानको भूमिका अभिनेता अभयराज बरालले निर्वाह गरेका छन्। यसअघि मञ्चन हुँदा उनको अभिनय र गणेशमान सिंहसँग मिल्दोजुल्दो शारीरिक बनावटको दर्शकले प्रशंसा गरेका थिए।
नाटकमा अभयराजसँगै नुषा लिङ्देन लिम्बू, माया मानन्धर, मीना पूर्णिमा, मनिष अर्याल, राम दाहाल, राजन मोक्तान, दुर्लभ सिंह कार्की, निश्चल डी इन्फिनिटी, रमेश वज्राचार्य, प्रदीप भट्ट, अरमान शाही, अनिश बोगटी, शिशिर घर्ती मगर, दिवस गौतम, भक्त श्रेष्ठ, निर्मल शाही, समीर आचार्य, शाश्वत सापकोटा, रुबिन सुनार र रोलेक्स राईको अभिनय रहेको छ।
यसअघि भदौमा सर्वनाम थिएटरमा आयोजित प्रिमियरमा गणेशमान सिंहका छोरा प्रकाशमान सिंहले आजको युवा पुस्ताले नेपालमा प्रजातन्त्र स्थापनाको इतिहास र गणेशमान सिंहको योगदान बुझ्न यो नाटक हेर्नुपर्ने बताएका थिए। नाटक बिहीबारबाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजे अतिरिक्त शोसमेत राखिएको निर्माण पक्षले जनाएको छ।









