ब्युटी न्युज नेपाल
काठमाडौँ, ३० कात्तिक
निर्देशक सुब्रत आचार्यको निर्देशनमा बन्न लागेको चलचित्र ‘पच्चीस पच्चीस’को कलाकार छनोट प्रक्रिया पूरा भएको छ। कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र अब छायांकनमा जाने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ।
गत साउनमा निर्माण घोषणा गरिएको चलचित्रमा नयाँ तथा अनुभवी कलाकारको मिश्रण रहनेछ। चलचित्रमा अभिषेक खड्का, खुसी कार्की, अमित सुब्बा (भक्ते भाइ), सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरी, आशिष पुरुष, तेज गिरी, हेना नगरकोटी र निशा गौतमलगायत कलाकारको अभिनय रहनेछ।
यस चलचित्रमार्फत दार्जिलिङका चर्चित कमेडियन तथा कन्टेन्ट क्रिएटर अमित सुब्बा अर्थात् ‘भक्ते भाइ’ले अभिनयमा डेब्यु गर्दैछन्। सामाजिक तथा हास्य विधामा निर्माण हुन लागेको चलचित्रले मनोरञ्जनसँगै सामाजिक विषयवस्तुलाई पनि उठाउने निर्माण पक्षको दाबी छ। निर्देशक आचार्यले चलचित्र नेपाली माटो र परिवेश सुहाउँदो हुने बताएका छन्।
निर्देशक आचार्यका लागि यो तेस्रो चलचित्र हो। यसअघि उनले ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरिसकेका छन्। चलचित्रको कथा सुब्रत आचार्य र जयाले तयार पारेका हुन् भने पटकथा सुशील देवकोटाको रहेको छ। चलचित्रको छायांकन निर्देशन हरि हुमागाईंले गर्नेछन्।
निर्माता कर्ण कार्की हुन्। गत वर्ष चलचित्र ‘होस्टेल ३’ मार्फत निर्माण क्षेत्रमा प्रवेश गरेका कार्कीको यो दोस्रो चलचित्र हो। चलचित्रका कार्यकारी निर्माता दीपेन्द्र गौतम रहेका छन्। धीरेन्द्र लाल कर्ण र मणिराज खड्का सहनिर्माताका रूपमा छन्। त्यस्तै, सरिता ढकाल, मनिषा राउत र प्रकाश कँडेल लाइन प्रोड्युसरका रूपमा रहेका छन्।









