ब्युटी न्युज नेपाल
काठमाडौँ, १ मंसिर
एक्सन र प्रेमकथालाई समेटेर निर्माण हुन लागेको चलचित्र ‘मोहनी’को छायांकन सुरु भएको छ। विजय ब्लोन तामाङको निर्माण तथा गोविन्द सिंह भण्डारीको निर्देशनमा बन्न लागेको चलचित्रको छायांकन सोमबारदेखि चितवनबाट सुरु गरिएको हो।
मोभिरा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन करिब ६० दिनसम्म चल्ने निर्माता विजय ब्लोनले जानकारी दिएका छन्। उनका अनुसार चितवनबाट सुरु भएको छायांकन मुस्ताङ, मुक्तिनाथ, पोखरा हुँदै काठमाडौँमा सम्पन्न गरिनेछ।
निर्माता विजयले कथाको मागअनुसार कलाकार छनोट गरेर छायांकन सुरु गरिएको बताए। दर्शकलाई राम्रो चलचित्र दिने उद्देश्यसहित निर्माण टोली काममा जुटेको उनको भनाइ छ।
चलचित्रमा आशीर्वाद क्षेत्री, सनिशा भट्टराई, सरोज खनाल, निमा पाण्डे, विजय ब्लोन, देवकुमार श्रेष्ठ, रञ्जना भट्टराई, रिस्ता अधिकारी, कर्मा लामा, सुरक्षा इटनी र उत्पल झा लगायतका कलाकारको अभिनय रहनेछ।
चलचित्रको कथा निर्माता विजय ब्लोन तामाङ स्वयंले लेखेका हुन्। यसको पटकथा तथा संवाद सामीप्यराज तिमल्सेनाले तयार पारेका छन्। चलचित्रमा महेश पौडेलको छायांकन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा विक्रम स्वार र किरण थापाको नृत्य निर्देशन रहनेछ। त्यस्तै, तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक तथा तेजबिक्रम केसी प्रोडक्सन म्यानेजरका रूपमा रहेका छन्। एक्सन र रोमान्सलाई मुख्य आकर्षण बनाउने लक्ष्यसहित निर्माण थालिएको ‘मोहनी’को प्रदर्शन मिति भने निर्माण पक्षले सार्वजनिक गरिसकेको छैन।









