‘जलाकी’ले पायो युनिभर्सल सर्टिफिकेट, मंसिर ४ देखि प्रदर्शनमा आउने


ब्युटी न्युज नेपाल
काठमाडौँ, १ मंसिर

आगामी मंसिर ४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जलाकी’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। योसँगै चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएको छ।

‘खुस्मा’बाट दर्शकमाझ परिचित निर्देशक अशोक थापा मगरको निर्देशनमा तयार भएको ‘जलाकी’ उनको दोस्रो निर्देशकीय चलचित्र हो। मगर समुदायको संस्कार, संस्कृति र आस्थालाई प्रेमकथासँग जोडेर प्रस्तुत गरिएको यस चलचित्रमा उपासना सिंह ठकुरी र सोनम तोप्देन मुख्य भूमिकामा छन्।

निर्देशक मगरका अनुसार चलचित्रको मुख्य विषयवस्तु उपासना र सोनमबीचको प्रेमकथा हो। मगर समुदायको मौलिक जीवनशैली, परम्परा, संस्कार र सांस्कृतिक पक्षलाई प्रेमकथामार्फत पर्दामा उतार्ने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ।

चलचित्रको सार्वजनिक ट्रेलरले दर्शकमाझ राम्रो प्रतिक्रिया पाइरहेको छ। त्यस्तै, चलचित्रमा समावेश ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका गीतले पनि दर्शक तथा श्रोताको ध्यान खिचिरहेका छन्।

चलचित्रमा उपासना र सोनमसँगै शिल्पा मास्के, साहारा हाङ्मा लिम्बू, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्गी, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिनलगायत कलाकारको अभिनय रहेको छ। विशेष भूमिकामा क्याप्टेन विजय लामा देखिनेछन्। बालकलाकारका रूपमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनाहा मगरले अभिनय गरेका छन्।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्मातामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर र सुस्मिता बुढाथोकी रहेका छन्।

चलचित्रलाई गोविन्द शाहीको काफिया फिल्म्स र कुबेर सिने डिष्ट्रिब्युसनले वितरण गर्नेछन्। युनिभर्सल सर्टिफिकेट प्राप्त गरेसँगै सबै उमेर समूहका दर्शकलाई लक्षित गर्दै मंसिर ४ गतेदेखि चलचित्र देशभर प्रदर्शनमा आउनेछ।