लायन्स क्लब अफ काठमाडौं अभियानद्वारा क्यान्सरपीडित पूर्णिमा कार्कीलाई आर्थिक सहयोग


ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ कात्तिक

विगत एक दशकदेखि सौन्दर्य व्यवसाय अर्थात् ब्युटिसियन क्षेत्रमा आबद्ध रहँदै आएकी पूर्णिमा कार्की हाल पाठेघरको क्यान्सरबाट पीडित छिन् । आफू क्यान्सर पीडित भएपछि उपचारका लागि आर्थिक सहयोगको उनले अनुरोध गरिरहेकी छन्।

यसैबिच पूर्णिमा कार्कीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ काठमाडौं अभियानले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । अभियानका अध्यक्ष लायन सुरेन्द्र गिरीको नेतृत्वमा उपाध्यक्षद्वय लायन सरिता भारती र लायन बिनिता महर्जन, सचिव लायन दिलीप महर्जनलगायत क्लबका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो।

उक्त सहयोग हस्तान्तरण कार्यलाई सफल बनाउन वरिष्ठ सौन्दर्यविद् तथा लायन्स एसडब्लुसी चिफ सोनी कारञ्जित, सफल व्यवसायी तथा रिजन चेयरपर्सन नकुल गिरीलगायतको समन्वय, सहयोग र सहकार्य रहेको थियो। साथै क्लबका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता र आर्थिक संयोजनमा सहयोग रकम हस्तान्तरण गरिएको हो।

सहयोग हस्तान्तरणका क्रममा क्लबका पदाधिकारीले आगामी दिनमा पनि पूर्णिमा कार्कीको उपचारका लागि आवश्यकताअनुसार सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । सानो सहयोग पनि कसैका लागि जीवन बाँच्ने ठूलो आधार बन्न सक्छ। त्यसैले पूर्णिमा कार्कीको उपचारमा सहयोग गर्न इच्छुक सम्पूर्ण व्यक्ति, संघसंस्था तथा शुभेच्छुकहरूलाई सहयोगका लागि हार्दिक अपिल गरिएको छ।

करिब १० वर्षअघि रोज ब्यूटी एकेडेमीबाट ब्युटिसियन तालिम लिएर आफ्नो संघर्षपूर्ण जीवनलाई नयाँ दिशा दिने प्रयास गरेकी कार्कीले अनेकौं कठिनाइबीच आफूलाई आत्मनिर्भर बनाउँदै आएकी थिइन्। पारिवारिक साथको अभाव र श्रीमानसँग अलग भएर एकल महिलाका रूपमा जीवनका चुनौती सामना गर्दै उनले आफ्नै सीप र मेहनतबाट जीवन अघि बढाउँदै आएकी थिइन्।

यसैबीच, बिरामी आमाको स्याहारसुसारका क्रममा अस्पतालमा लामो समय बिताउँदा उनलाई पनि स्वास्थ्यमा असहजता महसुस हुन थालेको थियो। सुरुमा सामान्य स्वास्थ्य समस्या ठानेर उपचार गराउँदै आएकी उनलाई विभिन्न परीक्षणका क्रममा पिसाबसम्बन्धी संक्रमण (युरिन इन्फेक्सन) देखिएको थियो। तर थप परीक्षणका क्रममा उनलाई पाठेघरको क्यान्सर भएको र क्यान्सर रोग तेस्रो चरण (थर्ड स्टेज) मा पुगिसकेको जानकारी प्राप्त भयो।

आफ्नो जीवन बचाउन र उपचारलाई निरन्तरता दिन उनी अहिले सबैसँग आर्थिक सहयोगको अपिल गरिरहेकी छन्। जीवनका अनेकौं संघर्ष पार गर्दै आफ्नै सीप र मेहनतबाट आत्मनिर्भर बन्न खोजेकी पूर्णिमा आज जीवनकै कठिन मोडमा पुगेकी छन्। यस्तो अवस्थामा उनको उपचार र जीवनरक्षाका लागि सबैको साथ, सहयोग र मानवीय सद्भाव आवश्यक देखिएको छ।