अर्पण र थिन्लेको रोमान्सले भरिएको ‘फ्रेन्च किस’को टिजर सार्वजनिक, माघ १ मा रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३० कात्तिक

अभिनेता अर्पण थापा र थिन्ले ल्हामोको रोमान्सलाई केन्द्रमा राख्दै चलचित्र ‘फ्रेन्च किस’को टिजर सार्वजनिक गरिएको छ। टिजरसँगै निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको छ। यो चलचित्र आगामी माघ १ गते माघे संक्रान्तिको अवसर पारेर देशभर प्रदर्शनमा आउने भएको छ।

ओएसआर डिजिटलमार्फत सार्वजनिक टिजरमा आधुनिक प्रेम सम्बन्धका विभिन्न आयामलाई प्रस्तुत गरिएको छ। काठमाडौँका सुन्दर स्थानदेखि तालसम्म एकअर्काको हात समाएर घुमिरहेको युगल जोडीमार्फत टिजरले प्रेमको नयाँ परिभाषा र आधुनिक पुस्ताको सम्बन्धलाई चित्रण गरेको छ।

टिजरमा प्रेम आधुनिक समयमा मिथकजस्तै बनिसकेको भन्ने संवादसमेत समावेश छ। एकअर्काप्रति आकर्षित देखिएका अर्पण र थिन्ले एकान्तमा चुम्बन गर्दै होटलसम्म पुग्छन्। त्यसपछि उनीहरूबीच चर्काचर्की भएको दृश्यले सम्बन्धमा आउने उतारचढावको संकेत गर्छ। समग्रमा टिजरले आधुनिक प्रेममा देखिने आकर्षण, शारीरिक निकटता र सम्बन्धको जटिलतालाई संकेत गरेको छ।

अभिनेता अर्पण थापाकै निर्देशनमा बनेको चलचित्रमा अर्पण र थिन्ले ल्हामोसँगै रेखा थापा, गौरी मल्ल र आयशा तामाङलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रको कथा पनि निर्देशक थापा स्वयंले लेखेका हुन्। निर्देशक थापाले यसअघि नै ‘फ्रेन्च किस’मार्फत नयाँ पुस्ताको प्रेमकथालाई फरक शैलीमा प्रस्तुत गर्न लागेको बताएका थिए। निर्माण पक्षले चलचित्रलाई नयाँ पुस्ताको रुचि र स्वादअनुसारको आधुनिक प्रेमकथामा आधारित सिनेमा भनेको छ।

ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता सौगात बस्नेत र सहनिर्माता सुभाष बी. शाही हुन्। चलचित्रको छायांकन सुदीप बरालले गरेका छन् भने संगीत चर्चित गायक तथा संगीतकार दीपक बज्राचार्यको रहेको छ।