सुनिल थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ असोज

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित निर्माण गरिएको चलचित्र ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक भएको छ। नेपालको इतिहास, संस्कृति र मौलिक पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्य राखिएको यस चलचित्रले जीवनका कठिन परिस्थितिमा अस्तित्व जोगाउन गरिने संघर्षको कथा प्रस्तुत गर्नेछ। आगामी मङ्सिर ४ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमा दिवङ्गत अभिनेता सुनिल थापाको अभिनय रहेको छ। यो उनको अन्तिम चलचित्रसमेत हो।

दशकौँदेखि नेपाली चलचित्र क्षेत्रमा योगदान दिएका थापाको अन्तिम अभिनयलाई दर्शकमाझ ल्याउन पाउनु निर्माण पक्षका लागि विशेष रहेको छ। उनको सशक्त अभिनय र चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानलाई सम्मान गर्दै ‘हिमालयन गोल्ड’लाई नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने तयारी गरिएको निर्माण पक्षले जनाएको छ।

धिराज राजवंशीको निर्देशनमा बनेको चलचित्रमा परीक्षा लिम्बू, कर्मा शाक्य, राहुल एन. मुखिया र सजन थापालगायत कलाकारको मुख्य भूमिका रहेको छ। सार्वजनिक ट्रेलरले चलचित्रको कथावस्तु, पात्रहरूको संघर्ष र यसको फरक प्रस्तुतिबारे उत्सुकता जगाएको छ।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक राजवंशीले ‘हिमालयन गोल्ड’लाई नेपाली चलचित्रको परम्परागत शैलीभन्दा फरक ढङ्गले निर्माण गरिएको बताए। उनका अनुसार चलचित्रमा गीत समावेश नगरिए पनि पृष्ठभूमि संगीतलाई विशेष महत्त्व दिइएको छ। प्राविधिक पक्षलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने उद्देश्यले विदेशी प्राविधिक टोलीसँग समेत सहकार्य गरिएको उनले जानकारी दिए।

चलचित्रलाई भारत, जापान र अस्ट्रेलियालगायत देशमा स्थानीय भाषाका सबटाइटलसहित नेपाली भाषामै प्रदर्शन गर्ने तयारी गरिएको छ। निर्देशक राजवंशीका अनुसार भारतको प्रतिष्ठित वितरण कम्पनी एए फिल्म्सले चलचित्र डबिङ गरेर प्रदर्शन गर्ने विकल्प दिए पनि मौलिकता कायम राख्न नेपाली भाषामै प्रदर्शन गर्ने निर्णय गरिएको हो।

“डबिङ गर्दा चलचित्रको वास्तविक अनुभूति नआउन सक्छ। त्यसका लागि उपयुक्त कलाकार र आवाजको छनोट पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। म चलचित्रमार्फत केही फरक र नेपालको मौलिकता विश्वमाझ प्रस्तुत गर्न चाहन्थेँ,” निर्देशक राजवंशीले भने।

चलचित्रकी मुख्य अभिनेत्री परीक्षा लिम्बूले ‘हिमालयन गोल्ड’ आफ्ना अघिल्ला चलचित्रभन्दा फरक रहेको बताइन्। यसअघि सामाजिक विषयवस्तु, पारिवारिक सम्बन्ध र प्रेमकथामा आधारित चलचित्रमा काम गरेकी उनले यसपटक अस्तित्व र जीवनका लागि संघर्ष गर्ने पात्रको कथा निर्वाह गरेकी छन्।

“एउटा मानिसको जीवनबाट सबै कुरा खोसिएपछि के बाँकी रहन्छ भन्ने विषयमा यो चलचित्र केन्द्रित छ। नेपालमा महिला प्रधान चलचित्र कम बन्ने भएकाले यस्तो कथामा काम गर्न पाउनु मेरा लागि विशेष हो,” उनले भनिन्। सुटिङका क्रममा चुनौती भए पनि काम सहज रूपमा सम्पन्न भएको उनको भनाइ थियो।

अभिनेता कर्मा शाक्यले पनि चलचित्रको पटकथा नेपाली चलचित्रमा प्रायः देखिने कथाभन्दा फरक रहेको बताए। नयाँ निर्देशक र नवीन सोचसहितका परियोजनामा काम गर्न आफू सधैँ उत्साहित हुने उल्लेख गर्दै उनले महिला पात्रलाई केन्द्रमा राखेर चलचित्र निर्माण गर्ने प्रयासको प्रशंसा गरे।

‘हिमालयन गोल्ड’को अर्को महत्त्वपूर्ण पक्ष यसको अन्तर्राष्ट्रिय वितरण हो। निर्माण पक्षका अनुसार यो चलचित्र भारतभर एकसाथ प्रदर्शनको अवसर पाउने पहिलो नेपाली चलचित्र बनेको छ। यसका लागि मुम्बईमा भारतीय वितरक तथा एए फिल्म्सका संस्थापक अनिल थडानीसँग औपचारिक सम्झौता भइसकेको छ।

‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘बाहुबली’, ‘आरआरआर’, ‘केजिएफ: च्याप्टर २’ र ‘पुष्पा’जस्ता चर्चित चलचित्र वितरण गरेको एए फिल्म्सले ‘हिमालयन गोल्ड’लाई भारतीय बजारमा पुर्‍याउने जिम्मेवारी लिएको हो। कम्पनीका संस्थापक थडानीले उत्कृष्ट कथावस्तु भएका चलचित्रलाई भारतीय दर्शकमाझ पुर्‍याउने उद्देश्य रहेको बताएका छन्।

चलचित्रका वितरक तथा निर्माता नकिम उद्दिनले पनि ‘हिमालयन गोल्ड’को अन्तर्राष्ट्रिय बजारमा राम्रो सम्भावना रहेको बताए। भारतमा एए फिल्म्ससँग सम्झौता भइसकेको र जापानलगायत अन्य देशबाट पनि चलचित्रप्रति सकारात्मक चासो देखिएको उनले जानकारी दिए।

नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजारमा स्थान पाउन सके उद्योगको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उद्दिनले ‘हिमालयन गोल्ड’ले नेपाली चलचित्रको पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरे।