ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ असोज
आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइन, कमलादीले काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरमा दुईदिने ‘स्पेस एन्ड डिजाइन एक्स्पो सिजन ६ र ७’ सुरु गरेको छ। शनिबारदेखि सुरु भएको एक्स्पोको उद्घाटन पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान र ‘मिस नेपाल वर्ल्ड २०२६’ दीपमाला ढकाललगायतले गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री प्रधानले नेपालमा युवापुस्तामाझ इन्टेरियर डिजाइनप्रति आकर्षण बढ्दै गएको बताउँदै यस क्षेत्रमा आवश्यक ज्ञान र सीप प्रदान गर्न आईआईएफटीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। उनले आईआईएफटीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाले नेपालमा फेसन तथा इन्टेरियर डिजाइनसम्बन्धी शिक्षाको विस्तारमा योगदान पुर्याएको उल्लेख गरे।
यस्तै, मिस नेपाल दीपमाला ढकालले एक्स्पोमा प्रस्तुत गरिएका क्याफेसहित विभिन्न इन्टेरियर डिजाइनका नमुना उत्कृष्ट रहेको बताउँदै सहभागी विद्यार्थीलाई शुभकामना दिइन्।

आईआईएफटीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाले नेपालमा दक्ष फेसन तथा इन्टेरियर डिजाइनरको आवश्यकता पूरा गर्ने उद्देश्यले सञ्चालन गरिएको शिक्षाले विद्यार्थीलाई यस क्षेत्रमा व्यावसायिक रूपमा अघि बढ्न सहयोग गरिरहेको बताए। उनका अनुसार यसपटकको एक्स्पोमा ‘क्याफे डिजाइन’ र ‘थेसिस डिजाइन’ गरी दुई विधामा प्रदर्शनी तथा प्रतिस्पर्धा आयोजना गरिएको छ।
एक्स्पोमा विद्यार्थीबीच उत्कृष्ट डिजाइनका लागि विभिन्न विधामा प्रतिस्पर्धा भइरहेको छ। उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार तथा नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। विद्यार्थीको सिर्जनशीलता र व्यावहारिक दक्षतालाई प्रोत्साहन गर्दै उनीहरूलाई व्यावसायिक क्षेत्रसँग जोड्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको शेर्पाले बताए।
शनिबारदेखि सुरु भएको प्रदर्शनी आइतबार साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। एक्स्पोमा आईआईएफटीका इन्टेरियर डिजाइनका १०१ जना विद्यार्थी सहभागी छन्। विद्यार्थीले अध्ययन तथा प्रशिक्षणका क्रममा तयार पारेका विभिन्न सिर्जनात्मक अवधारणा, व्यावहारिक डिजाइन तथा इन्टेरियर डिजाइनसम्बन्धी नमुना प्रदर्शनीमा राखेका छन्। प्रदर्शनी सिटी सेन्टरको भुइँतलादेखि तेस्रो तलासम्म सञ्चालन भइरहेको छ।

यसै अवसरमा असोज १८ गते दिउँसो ४ बजे दीक्षान्त समारोहसमेत आयोजना गरिने आयोजकले जनाएको छ।
शेर्पाका अनुसार एक्स्पो विद्यार्थीका शैक्षिक उपलब्धि प्रदर्शन गर्ने अवसर मात्र नभई इन्टेरियर डिजाइन, निर्माण, होटल तथा रेस्टुरेन्ट, क्याफे, रियल इस्टेट र उद्यमशीलतासँग सम्बन्धित व्यवसायी तथा पेशेवरका लागि नयाँ प्रतिभा र सिर्जना अवलोकन गर्ने महत्वपूर्ण मञ्चसमेत बनेको छ।
विशेषगरी नयाँ क्याफे, रेस्टुरेन्ट, होटल, कार्यालय तथा अन्य व्यावसायिक संरचना निर्माण वा पुनःडिजाइन गर्ने योजनामा रहेका व्यवसायीका लागि एक्स्पो उपयोगी हुने शेर्पाले बताए। उनले इन्टेरियर डिजाइन व्यवसायी, निर्माण क्षेत्रका पेशेवर, उद्यमी तथा सम्बन्धित क्षेत्रका व्यक्तिलाई एक्स्पो अवलोकन गर्न आग्रह गरेका छन्।
आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक तथा सिर्जनात्मक सीप प्रदान गर्दै व्यावसायिक क्षेत्रमा प्रवेशका लागि सक्षम बनाउने उद्देश्यले विभिन्न प्रदर्शनी तथा प्रतियोगिता आयोजना गर्दै आएको छ।
एक्स्पोलाई पावर्ड बाई प्रायोजकका रूपमा ल्यामिनार भिट्रिफाइड टायल्स र शेर्पा ग्रुप, पेन्ट पार्टनरका रूपमा बर्जर पेन्ट्स तथा एसोसिएट पार्टनरका रूपमा प्यासन टिस्यु र जेरोना डर्माको सहकार्य रहेको छ।






