‘एक्का तीन’मा पूजासँग प्रतिस्पर्धीको रुपमा कविता नेपाली अनुबन्धित


ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ साउन

निर्देशक रुपेश तामाङको आगामी एक्सन फिल्म ‘एक्का तीन’ का लागि अभिनेत्री तथा मोडल कविता नेपाली मुख्य भूमिकामा अनुबन्धित भएकी छन्। उनको जन्मदिनको अवसर पारेर निर्माण टिमले औपचारिक रूपमा कवितालाई फिल्ममा स्वागत गरेको हो।

यसअघि नै अभिनेत्री पूजा शर्मा र अभिनेता पुष्प खड्का प्रमुख कलाकारका रूपमा तय भइसकेका छन्। कविताको प्रवेशसँगै फिल्मका मुख्य तीन पात्रको कलाकार छनोट पूरा भएको निर्माण पक्षले जनाएको छ। चलचित्रको छायांकन आगामी भदौ महिनाबाट सुरु गर्ने तयारी गरिएको छ।

निर्देशक तामाङका अनुसार ‘एक्का तीन’ पूर्ण रूपमा एक्सनप्रधान कथा बोकेको फिल्म हो। कविताले यसअघि प्रदर्शन भएको ‘एक्लो’ फिल्ममा देखाएको एक्सन अभिनयलाई दर्शकले रुचाएकाले उनलाई नयाँ परियोजनामा समेटिएको उनले बताए। फिल्ममा पूजा शर्मा र कविता नेपालीबीच दमदार अभिनय प्रतिस्पर्धा देख्न पाइने निर्देशकको विश्वास छ।

जुना फिल्म्स र अधिरा फिल्म्सको संयुक्त ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको कथा तथा पटकथा सुमन गजमेरले तयार पारेका हुन्। निर्माण टिमका अनुसार केही अन्य कलाकारको छनोट प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ।

‘एक्का तीन’लाई मनोरञ्जनसँगै सशक्त एक्सन प्रस्तुत गर्ने उद्देश्यका साथ निर्माण गर्न लागिएको जनाइएको छ। मुख्य कलाकारको लाइनअप सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकमाझ उत्सुकता बढेको निर्माण पक्षको अपेक्षा छ।