ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ कात्तिक
चलचित्र ‘चिरञ्जीवी भवः’को लोकलयमा आधारित नृत्यप्रधान गीत ‘जाले रुमाल’ सार्वजनिक भएको छ। निर्माण पक्षले बिहीबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरेको हो।
दीपकप्रसाद आचार्यको शब्दको गीतमा रचना रिमाल, रामचन्द्र काफ्लेको स्वर छ। लोकलयमा तयार पारिएको यस गीतमा एक युवक र युवतीबीचको प्रेमिल दोहोरी प्रस्तुत गरिएको छ। एकअर्काको रूप र सौन्दर्यबाट आकर्षित भएका युवकयुवतीले प्रेमभाव व्यक्त गरेको गीतका शब्दमा मौलिक नेपालीपन झल्किन्छ।

विवाहको परिवेशमा तयार पारिएको गीतको भिडियोमा अभिनेता आशीर्वाद क्षेत्री र अभिनेत्री प्रशंसा रायमाझी विवाहको सेटअपमा देखिएका छन्। उनीहरूको विवाह समारोहमा परिवारका सदस्यले गरेको रमाइलो र नाचगानलाई भिडियोमा समेटिएको छ। गीतले चलचित्रका विभिन्न पात्रबीचको सम्बन्ध र पारिवारिक अन्तरसम्बन्धसमेत उजागर गरेको छ।
गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोको अन्तिम दृश्यले दर्शकमा थप कौतूहल सिर्जना गर्ने प्रयास गरेको छ। रमाइलो विवाह समारोहबीच अप्रत्याशित घटना घटेपछि कथाले कुन मोड लिन्छ भन्ने जिज्ञासा गीतको भिडियोले छाडेको छ।
दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा निर्माण भइरहेको चलचित्रमा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य भूमिकामा छन्। हरिवंश चलचित्रमा ‘चिरञ्जीवी बाजे’को चरित्रमा देखिँदैछन्। यसैगरी करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, सरोज अर्याल, हरिस निरौला (कक्रोज), गीता अधिकारी र सुस्मिता कुँवरलगायत कलाकारको अभिनय रहेको छ।
जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रको कथा कुमार कट्टेल ‘जिग्री ब्रो’को हो। कथालाई सविन अधिकारी र वसन्त न्यौपानेले लेखनमा ढालेका छन्। उमेशकुमार बराल र चिरन केसी निर्माता तथा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माता रहेको चलचित्र सामाजिक कथावस्तुमा आधारित छ। यसले दुई पुस्ताबीचको वैचारिक भिन्नता, पारिवारिक सम्बन्ध र पुस्तान्तरणको विषयलाई उठाएको छ।
शिवराम श्रेष्ठको छायाङ्कन र मित्र डी. गुरुङको सम्पादन रहेको चलचित्रमा बाबुल गिरी, सुशान्त गौतम, निरञ्जन थापा र समीर खरेलको सङ्गीत छ। गम्भीर विष्ट र किरण थापाले नृत्य निर्देशन गरेका छन्।
गत वर्ष ‘परान’मार्फत सफलताको स्वाद चाखेका निर्देशक आचार्यको यो दोस्रो चलचित्र हो। यही कारण पनि ‘चिरञ्जीवी भवः’लाई दर्शकले प्रतीक्षा गरिरहेको चलचित्रका रूपमा हेरिएको छ।
चलचित्र आगामी माघ १ गते (जनवरी १५) देखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ। आरआर फिल्म्सले वितरण गर्ने चलचित्रको डिजिटल साझेदार ओएसआर डिजिटल रहेको छ।






