ब्युटी न्युज नेपाल
काठमाडौँ, २० कात्तिक
नेपाली चलचित्र ‘पाँच पाण्डव’ शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ। बलिउडको ठूलो चलचित्रसँगै प्रदर्शनमा आएको ‘पाँच पाण्डव’ले सुरुवाती चरणमा सन्तोषजनक शो प्राप्त गरेको निर्माण पक्षले जनाएको छ। चलचित्रका निर्देशक वसन्त निरौलाले दर्शकको सकारात्मक प्रतिक्रियासँगै दोस्रो दिनदेखि हलमा शो सङ्ख्या बढ्ने विश्वास व्यक्त गरेका छन्।
निर्देशक निरौलाका अनुसार बलिउडको ठूलो चलचित्र प्रदर्शनमा आएका कारण अपेक्षाकृत धेरै शो नपाए पनि प्राप्त शो सङ्ख्यालाई सन्तोषजनक मान्नुपर्छ। उनले चलचित्रको विषयवस्तु, अवधारणा र प्रस्तुति दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको बताए।
‘हाम्रो सिनेमाले जति शो पाएको छ, बलिउडको ठूलो सिनेमा आएकाले यसलाई सन्तोषजनक मान्नुपर्छ। हाम्रो चलचित्र राम्रो बनेको छ। त्यसैले दोस्रो दिनदेखि नै हलहरूले शो थप्दै जानेमा हामी पूर्ण रूपमा ढुक्क छौँ,’ निर्देशक निरौलाले भने।
सामाजिक विषयवस्तुमा आधारित चलचित्र ‘पाँच पाण्डव’ले महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गरेको छ। चलचित्रका कथाकार, पटकथाकार तथा संवाद लेखक सुशील पौडेलले यसलाई सामाजिक कथामा आधारित चलचित्रका रूपमा व्याख्या गरेका छन्।
वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन्। त्यस्तै, दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेशजंग खत्रीलगायत कलाकारको पनि अभिनय रहेको छ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्मातामा काली रानी श्रेष्ठ रहेकी छन्। नवीनले यसअघि गत वर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए।
श्याम तामाङको छायाङ्कन रहेको चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा रङ्ग संयोजन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी तथा अर्जुन पोखरेलको सङ्गीत रहेको छ। उत्तम न्यौपानेले ध्वनि संयोजन, सुजिल कर्माचार्यले पृष्ठभूमि सङ्गीत र पुकार धिमालले दृश्य प्रभावको जिम्मेवारी सम्हालेका छन्।
चलचित्रलाई डल्बी एटमस ध्वनि प्रविधिमा तयार पारिएको निर्माण पक्षले जनाएको छ। ओएसआर डिजिटल डिजिटल साझेदार रहेको चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गरेको छ।






