‘जलाकी’को ट्रेलरले बढायो दर्शकीय उत्सुकता, युट्युब ट्रेन्डिङको छैटौँ स्थानमा


ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ कात्तिक

मगर समुदायको मौलिक संस्कृति, ग्रामीण परिवेश र प्रेमकथालाई पर्दामा उतारेको चलचित्र ‘जलाकी’ले प्रदर्शनअघि नै दर्शकमाझ चर्चा बटुल्न थालेको छ। मङ्सिर ४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। ट्रेलर युट्युबको मुभिज ट्रेन्डिङ सूचीमा छैटौँ स्थानमा समेत पुग्न सफल भएको छ।

निर्देशक अशोक थापा मगरको अघिल्लो सफल चलचित्र ‘खुस्मा’ हेरेका दर्शकले ‘जलाकी’को ट्रेलरमा पनि त्यस्तै मौलिकता र भावनात्मक प्रेमकथाको झल्को पाएका छन्। मगर समुदायको संस्कृति, परम्परा र ग्रामीण जीवनशैलीलाई प्रेमकथासँग जोडेर प्रस्तुत गरिएकाले चलचित्रप्रति दर्शकको अपेक्षा बढेको देखिन्छ।

ट्रेलरमा मुख्य कलाकार उपासना सिंह ठकुरी र सोनम तोप्देनबीचको कलेज जीवनको प्रेम, कक्षाकोठा र पुस्तकालयका रमाइला पलसँगै पछिल्लो समय आउने विछोड र भावनात्मक सङ्घर्षलाई समेटिएको छ। यी दुई कलाकारको पर्दामा देखिएको जोडी र अभिनयको दर्शकले प्रशंसा गरेका छन्।

यसै चलचित्रमार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी सहारा हाङमा लिम्बुको अभिनयले पनि दर्शकको ध्यान खिचेको छ। पहिलो चलचित्र भए पनि ट्रेलरमा उनको स्वाभाविक अभिनय र पर्दामा देखिएको उपस्थितिलाई लिएर सकारात्मक प्रतिक्रिया आइरहेको छ। चलचित्रमा पोखरा, म्याग्दी र रोल्पाका प्राकृतिक तथा रमणीय दृश्यसमेत समेटिएका छन्।

ट्रेलर सार्वजनिक हुनुअघि नै चलचित्रका ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका तीन गीत तथा टिजरले दर्शकमाझ राम्रो चर्चा पाएका थिए। विशेषगरी ‘चाँदी जलप’ गीतले सामाजिक सञ्जाल टिकटकमा समेत व्यापक लोकप्रियता हासिल गरेको थियो।

चलचित्रको शीर्षक ‘जलाकी’ मगर समुदायमा आस्था र स्मृतिको प्रतीकका रूपमा रहेको परम्परागत ढुङ्गाको स्तम्भसँग सम्बन्धित छ। निर्देशक थापा मगरले यसलाई चलचित्रमा प्रेम, विश्वास र सम्बन्धको प्रतीकका रूपमा प्रस्तुत गरेका छन्।

उपासना सिंह ठकुरी, सोनम तोप्देन र सहारा हाङमासँगै चलचित्रमा शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्गी, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, सङ्गीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिनलगायत कलाकारको अभिनय रहेको छ। विशेष भूमिकामा क्याप्टेन विजय लामा देखिएका छन्। बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनाहा मगर छन्।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर र सुस्मिता बुढाथोकी हुन्। चलचित्रलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुबेर सिने डिस्ट्रीब्युसनले वितरण गर्दैछन्। मौलिक संस्कृति, प्रेम र मानवीय सम्बन्धको कथालाई समेटेको ‘जलाकी’ मङ्सिर ४ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ।