ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ असोज
आगामी असोज ३० गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘आ बाट आमा–२’ को प्रचारप्रसारलाई निर्माण पक्षले तीव्र बनाएको छ। दर्शकमाझ चलचित्रको चर्चा बढाउने उद्देश्यले कलाकारसहितको टोली देश दौडाहामा निस्किएको छ। यसैक्रममा बुटवलको गोलपार्कमा आयोजित भव्य कन्सर्टमा चलचित्रका कलाकारको प्रस्तुति हेर्न हजारौँ दर्शक भेला भएका छन्।
कन्सर्टमा अभिनेता पल शाह, अभिनेत्री मलिका महत र विपना थापासहितका कलाकारले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्दै चलचित्रको प्रचार गरेका थिए। कार्यक्रममा आकाश श्रेष्ठ, निकिता आचार्य र रिश्ता गुरुङको समेत उपस्थिति थियो। उनीहरूको प्रस्तुतिले कन्सर्टस्थलमा उत्साहपूर्ण माहोल सिर्जना गरेको थियो।
गीतसँगै पल शाह, मलिका महत, विपना थापा, आकाश श्रेष्ठ, निकिता आचार्य र रिश्ता गुरुङले नृत्य प्रस्तुत गर्दा दर्शकको हुटिङ र तालीले गोलपार्क गुञ्जिएको थियो।

पल शाह र मलिका महत स्टेजमा पुग्दा दर्शकले चर्को हुटिङसहित स्वागत गरेका थिए। अभिनेत्री विपना थापालाई प्रत्यक्ष देख्दा पनि दर्शकले ताली बजाएर माया दर्शाएका थिए। आकाश श्रेष्ठ र निकिता आचार्यको नृत्यमा दर्शकले ‘वान्स मोर’ भन्दै थप प्रस्तुति मागेका थिए।
चलचित्रका निर्देशक चन्द्र पन्तले दर्शकको माया र साथले आफूहरू उत्साहित भएको बताए। चलचित्रको प्रचारप्रसारलाई प्रभावकारी बनाउन कलाकारसहित देशका विभिन्न सहरमा पुगिरहेको उनको भनाइ थियो। बुटवलमा दर्शकको उल्लेख्य उपस्थिति र कलाकारप्रतिको उत्साहले आफूहरूलाई थप ऊर्जा दिएको उनले बताए।

कन्सर्टअघि निर्देशक पन्तसहितको टोलीले स्थानीय पत्रकारसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रमसमेत गरेको थियो। चलचित्र पत्रकार संघ रुपन्देहीका निवर्तमान अध्यक्ष मोहन न्यौपानेको संयोजनमा आयोजित कार्यक्रममा कलाकार र पत्रकारबीच चलचित्रका विषयमा छलफल गरिएको थियो।
चन्द्र पन्तको कथा तथा पटकथामा निर्माण भएको चलचित्रमा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलीप अखेडालगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टको रहेको छ। करण सिंह प्रोडक्सन एक्जिक्युटिभ रहेको चलचित्रमा नवराज उप्रेतीको छायाङ्कन, गम्भीर विष्टको नृत्य निर्देशन छ। साहिल खान र मिलन श्रेष्ठले चलचित्रको सम्पादन गरेका छन्।
ओएसआर डिजिटल चलचित्रको डिजिटल साझेदार रहेको छ भने आरआर फिल्म्सले नेपालभर वितरणको जिम्मेवारी लिएको छ। दसैँको अवसर पारेर प्रदर्शनमा आउन लागेको ‘आ बाट आमा–२’ ले प्रचार कन्सर्टमार्फत दर्शकमाझ आफ्नो उपस्थिति बलियो बनाउने प्रयास गरिरहेको छ।









