ब्युटी न्युज नेपाल
बर्दिवास, २३ असोज
बर्दिवासमा बिहिबारबाट सुरु भएको महाधिवेशनबाट चर्चित लोकदोहोरी गायक पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। प्रतिष्ठानको महाधिवेशनबाट शर्मालाई अध्यक्षको जिम्मेवारी दिइएको हो। उनी बिरुद्ध अध्यक्षमा कसैको पनि उम्मेदवारी नपरेपछि पशुपति निर्विरोध अध्यक्षमा चयन भएका हुन् ।
लामो समयदेखि नेपाली लोकसंगीतमा सक्रिय शर्मा मौलिक लोकभाका, व्यङ्ग्यात्मक प्रस्तुति र जनजीवनसँग जोडिएका गीतका कारण लोकप्रिय छन्। आफ्ना सिर्जनामार्फत लोकदोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाएका उनी अब प्रतिष्ठानको नेतृत्वमा पुगेका हुन्।
अध्यक्ष पदमा शर्माको नाममा सहमति जुटेसँगै नयाँ नेतृत्व चयनको प्रक्रिया सहज बनेको हो। महाधिवेशनमा विभिन्न पदमा प्रतिस्पर्धा र नेतृत्वका लागि आन्तरिक छलफल भइरहेका बेला अध्यक्षमा भने सर्वसम्मति कायम भएको छ।
यसअघि अध्यक्ष पदको प्रतिस्पर्धामा देखिएका गायक दीपक खड्काले शर्मालाई समर्थन गर्ने तयारी गरेपछि उनको नेतृत्वमा सहमति जुट्ने सम्भावना बलियो बनेको थियो। अन्ततः महाधिवेशनले शर्मालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।
शर्माको नेतृत्वमा प्रतिष्ठानले कलाकारको हकहित संरक्षण, नेपाली मौलिक लोकगीत तथा संगीतको प्रवर्द्धन र लोकसंस्कृतिको जगेर्नामा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
नयाँ नेतृत्वसामु प्रतिष्ठानभित्र एकता कायम राख्ने, कलाकारका व्यावसायिक तथा पेसागत समस्या सम्बोधन गर्ने र संस्थालाई थप व्यवस्थित बनाउने चुनौतीसमेत रहनेछ। लोकसंगीत क्षेत्रका कलाकार तथा शुभेच्छुकले उनको कार्यकालबाट नेपाली लोकसंगीतको संरक्षण र विकासमा सकारात्मक योगदान पुग्ने विश्वास लिएका छन्।









