ब्युटी न्युज नेपाल
बर्दिबास, २२ असोज
वरिष्ठ लोकदोहोरी गायक चन्द्र शर्मा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको नवौँ राष्ट्रिय महाधिवेशनमा एक लाख रुपैयाँसहित संस्थागत सम्मानबाट सम्मानित भएका छन्। नेपाली लोकसङ्गीतको विकास र प्रतिष्ठानको संस्थागत उन्नतिमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो।
मधेश प्रदेशको बर्दिबासमा बिहीबारदेखि सुरु भएको महाधिवेशनका क्रममा प्रतिष्ठानको वर्तमान कार्यसमितिले पूर्वअध्यक्ष शर्मालाई नगद एक लाख रुपैयाँसहित सम्मान प्रदान गरेको जनाएको छ।
प्युठानमा जन्मिएका शर्मा बाल्यकालदेखि नै गीतसङ्गीतमा रुचि राख्थे। दाङमा हुर्किएका उनले विद्यालयमा अध्ययन गर्दादेखि नै विभिन्न सांस्कृतिक कार्यक्रम तथा लोकगीत प्रतियोगितामा सहभागिता जनाउन थालेका थिए। सन् १९९९ मा ‘हेर सानु’ गीति एल्बम सार्वजनिक गरेपछि उनको व्यावसायिक गायन यात्राले गति लिएको थियो। ‘मुहारै जुन जस्तो’, ‘पल्लो घरको दाइ’, ‘मायाको अनिकाल’, ‘काँचो सुरती’ र ‘बाच्छीले धान खायो’ लगायतका गीत उनका चर्चित सिर्जनामा पर्छन्।
गायनसँगै संस्थागत नेतृत्वमा पनि सक्रिय शर्मा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका संस्थापक सहसचिव, महासचिव, उपाध्यक्ष हुँदै २०७० देखि २०७३ सालसम्म केन्द्रीय अध्यक्ष बनेका थिए। उनले लोकदोहोरी कलाकारको हकहित, पेसागत अधिकार र लोकसङ्गीतको संरक्षणका लागि विभिन्न भूमिकामा रहेर काम गरेका छन्।
लोकदोहोरी क्षेत्रमा लामो समयदेखि सक्रिय शर्माले नेपाल सरकारबाट २०७९ सालमा प्रबल जनसेवाश्री पदकसमेत प्राप्त गरेका छन्। यसका अतिरिक्त उनी विभिन्न सङ्घसंस्थाबाट सम्मानित भइसकेका छन्।
प्रतिष्ठानको नवौँ महाधिवेशनमा प्रदान गरिएको सम्मानले लोकसङ्गीतको विकास, संरक्षण र संस्थागत नेतृत्वमा शर्माले पुर्याएको योगदानको कदर गरेको छ।









