नेपाल चलचित्र संघको अध्यक्षमा प्रज्ज्वल शमशेर जबरा निर्वाचित


ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ मंसिर

नेपाल चलचित्र संघको नयाँ अध्यक्षमा प्रज्ज्वल शमशेर जबरा निर्वाचित भएका छन्। संघको ५२औँ साधारणसभा तथा निर्वाचनबाट जबरा अध्यक्ष पदमा चयन भएका हुन्। उनी अघिल्लो कार्यकालमा संघको कोषाध्यक्ष थिए । कोषाध्यक्षबाट एकैचोटी अध्यक्षमा छलाङ मारेर प्रज्ज्वलले नयाँ इतिहास बनाएका छन् ।

 

अध्यक्ष पदका प्रतिस्पर्धी गोपालकाजी कायस्थलाई ३७ मत प्राप्त हुँदा जबराले ५३ मत ल्याएर विजयी भएका हुन्। निर्वाचनबाट जबरा आगामी दुई वर्षका लागि संघको अध्यक्षमा चयन भएको जनाइएको छ। अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा जबरा र कायस्थबीच मतान्तर १६ रहेको छ।

निर्वाचनबाट संघको कार्यसमिति सदस्यहरू भने निर्विरोध चयन भएका छन्। चलचित्र प्रदर्शकको खुला समूहबाट दुर्गालाल प्रधान, मिजास पोखरेल, आशिष तामाङ र योगेन्द्र मल्ल ठकुरी चयन भएका छन्।

त्यसैगरी, चलचित्र वितरकको प्रतिनिधित्व गर्दै करण श्रेष्ठ र गोविन्दबहादुर शाही कार्यसमिति सदस्यमा निर्विरोध चयन भएका छन्।

प्रदेशगत प्रतिनिधित्वतर्फ कोशी र मधेश प्रदेशबाट चेतन बराल चयन भएका छन्। बागमती प्रदेशबाट सुरेन्द्रकुमार थापा र विपश्यना श्रेष्ठ निर्विरोध चयन भएका छन्। विपश्यना कार्यसमितिमा चयन हुने महिला सदस्य हुन्।

त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने सदस्यमा डाक्टर सिंह गुरुङ चयन भएका छन्। उनी कर्णाली प्रदेशका प्रतिनिधि हुन्। यिनै केन्द्रिय सदस्यहरुबाट आज संघको पदाधिकारी चयन गरिने भएको छ । सोही कारण अध्यक्षसँगै सदस्य मात्र गएराती चयन गरिएको हो ।

नेपाल चलचित्र संघ चलचित्र प्रदर्शक तथा वितरकहरूको छाता संस्था हो। नेपाली चलचित्रको प्रदर्शन, वितरण तथा व्यावसायिक विकासमा संघले लामो समयदेखि काम गर्दै आएको छ। नयाँ नेतृत्व चयन भएसँगै नेपाली चलचित्रको प्रदर्शन तथा वितरण व्यवसायमा देखिएका समस्या समाधान, चलचित्र घरहरूको संरक्षण तथा विस्तार र समग्र चलचित्र क्षेत्रको व्यावसायिक विकासका लागि संघले कस्तो पहल गर्छ भन्ने चासो बढेको छ।

चलचित्र घरहरूको सञ्चालनमा देखिएका चुनौती, डिजिटल प्रविधिको विकाससँगै बदलिँदो चलचित्र प्रदर्शन व्यवसाय र नेपाली चलचित्रको बजार विस्तार नयाँ नेतृत्वका लागि महत्वपूर्ण विषय हुनेछन्। अध्यक्षमा निर्वाचित जबराको नेतृत्वमा संघले यी विषयमा कस्तो रणनीति अघि बढाउँछ भन्ने आगामी दिनमा स्पष्ट हुनेछ।