‘सारथी’को ट्रेलर सार्वजनिक : निरुता सिंह र गिरी विश्वकर्माको आमा–छोराको भावुक कथा


ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ मंसिर

आमा र छोराबीचको आत्मीय सम्बन्ध, सङ्घर्ष र जीवनका उतारचढावलाई ग्रामीण परिवेशमा प्रस्तुत गरिएको चलचित्र ‘सारथी’को ट्रेलर सार्वजनिक भएको छ। कुमार गजुरेलको निर्देशनमा बनेको चलचित्रको ट्रेलर बिहीबार काठमाडौँको बानेश्वरस्थित एनबी सेन्टरमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।

म्याग्दीको दुर्गम गुर्जा गाउँको प्राकृतिक सौन्दर्य, ग्रामीण जनजीवन र त्यहाँको सामाजिक परिवेशलाई समेटिएको ट्रेलरले आमा र छोराबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको छ। जीवनका हरेक कठिन मोडमा छोराको सहारा र मार्गदर्शक बनेकी आमाको भूमिकामा अभिनेत्री निरुता सिंह देखिएकी छन्। त्यस्तै, छोराको भूमिकामा गिरी विश्वकर्माले अभिनय गरेका छन्। ट्रेलरमा निरुता र गिरीको अभिनय भावुक तथा प्रभावशाली देखिन्छ।

लामो समयपछि नेपाली चलचित्रको पर्दामा फर्किएका अभिनेता उत्तम प्रधानलाई पनि ट्रेलरमा देख्न सकिन्छ। नवअभिनेत्री गायत्री जोशी र उत्तम प्रधानको भूमिकालाई भने केही रहस्यमयी शैलीमा प्रस्तुत गरिएको छ। यसले चलचित्रको कथाप्रति दर्शकको उत्सुकता बढाउने देखिन्छ।

ट्रेलरको सुरुवातमै ‘सारथी’ शीर्षकको अर्थसँगै कलाकारहरूको परिचय प्रस्तुत गरिएको छ। ग्रामीण परिवेशमा आधारित चलचित्रमा अभिनय गर्ने अन्य कलाकारहरूको प्रस्तुति पनि स्वाभाविक र जीवन्त देखिन्छ।

निर्देशक गजुरेलकै कथा, पटकथा तथा संवाद रहेको चलचित्र यही मंसिर ११ गतेदेखि देशभरका चलचित्र भवनमा प्रदर्शन हुँदैछ। चलचित्रमा निरुता सिंह, उत्तम प्रधान, गिरी विश्वकर्मा, गायत्री जोशी, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुइँकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारको अभिनय रहेको छ।

किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको चलचित्रको सम्पूर्ण छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो। चलचित्रलाई संकल्प भुजेलले छायांकन गरेका हुन्।

तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन्। बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सहनिर्माता छन्। अमिर केसीले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हालेका छन्।

चलचित्रमा  प्रशान्त शिवाकोटीको संगीत रहेको छ। राजु खतिवडा मुख्य सहायक निर्देशक तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशकका रूपमा रहेका छन्। चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ।

तस्बिर ः बद्री थापा, ब्युटी न्युज नेपाल