चलचित्र संघको नयाँ अध्यक्षमा गोपालकाजीको पल्ला भारी, यस्ता छन चलचित्र हलका समस्या


ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ मंसिर

चलचित्र प्रदर्शन गर्ने नेपालका चलचित्र घर तथा चलचित्र वितरकहरूको व्यावसायिक संस्था नेपाल चलचित्र संघले आज नयाँ नेतृत्व पाउने भएको छ। संघको ५२औँ वार्षिक साधारण सभा आज ललितपुरको ग्वार्कोस्थित होटल तुलिपमा आयोजना हुँदैछ।

चलचित्र विकास बोर्डका अध्यक्ष मनीष पण्डितले उद्घाटन गर्ने साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ। अध्यक्ष पदका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थको नाम बलियो रूपमा अघि आएको छ। यद्यपि, वर्तमान अध्यक्ष नरेन्द्र महर्जनलाई नै अर्को कार्यकालका लागि दोहो¥याउनुपर्ने मत राख्ने समूहले पनि अन्तिम समयसम्म पहल गरिरहेको छ।

काठमाडौँका केही चलचित्र घर, मोफसलका चलचित्र घर तथा वितरकहरूले गोपालकाजी कायस्थलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा लबिङ गरिरहेका छन्। कायस्थ हाल संघको वरिष्ठ उपाध्यक्ष पदमा छन्।

अध्यक्ष बन्न तयार छन् गोपालकाजी
अब संघमा कुन पदमा रहने तयारी छ भन्ने ब्युटी न्युज नेपालको जिज्ञासामा वरिष्ठ उपाध्यक्ष कायस्थले आफू अध्यक्ष पदका लागि स्वाभाविक दाबेदार रहेको संकेत गरे।

उनले भने, ‘म वरिष्ठ उपाध्यक्ष हुँ। अब मैले योभन्दा माथि जाने भनेको अध्यक्षको पद मात्रै भएकाले म कुन पदमा बस्दा उपयुक्त हुन्छ भनेर तपाईंहरूले बुझ्नुभएकै होला नि।’

अध्यक्ष बन्ने तयारीबारे थप जिज्ञासा राख्दा उनले भने, ‘पदीय हिसाबले यसपटक मेरो अध्यक्ष बन्ने पालो हो र धेरै साथीहरूले मेरो नाम अघि सार्नुभएको छ। जहाँसम्म यो विषयलाई आजको साधारण सभाले बुझ्नेछ र सोहीअनुसार निर्णय गर्नेछ भन्ने विश्वास मैले लिएको छु।’

कायस्थको अभिव्यक्तिले उनी अध्यक्ष पदका लागि तयार रहेको स्पष्ट हुन्छ। संघका सदस्यहरूबीच पनि उनको नाममा सहमति जुटाउने प्रयास भइरहेको छ। त्यसैले यसपटकको निर्वाचनमा कायस्थ अध्यक्ष बन्ने सम्भावना बलियो देखिएको छ।

दोस्रो कार्यकालका लागि सोचेको छैनन् नरेन्द्रले
वर्तमान अध्यक्ष नरेन्द्र महर्जनले भने दोस्रो कार्यकालका लागि अध्यक्ष बन्ने विषयमा आफूले नसोचेको बताएका छन्। पुनः अध्यक्षमा दोहोरिने तयारीबारे ब्युटी न्युज नेपालको प्रश्नमा महर्जनले भने, ‘मैले आज आफ्नो पहिलो कार्यकाल पूरा गर्दैछु। दोस्रो पटक अध्यक्ष बन्नेबारे मैले त्यतातिर सोचेकै छैन। मेरो चाहना गोपालजी हुनुपर्छ भन्ने पनि हो।’

महर्जनको यो अभिव्यक्तिले उनी पुनः अध्यक्ष बन्ने दौडमा नरहेको संकेत गरेको छ। तर उनलाई नै अर्को कार्यकालका लागि अध्यक्ष बनाउनुपर्ने पक्षमा रहेको समूहले भने अन्तिम समयसम्म आफ्नो प्रयास जारी राखेको छ । यदि उक्त समूहको प्रयास सफल भएमा महर्जन पुनः अध्यक्षमा दोहोरिन सक्छन्। अन्यथा संघले गोपालकाजी कायस्थलाई नयाँ अध्यक्षका रूपमा पाउने सम्भावना छ।

अध्यक्षसँगै आज संघको कार्यसमितिका सदस्यहरू पनि चयन हुनेछन्। संघको विधानअनुसार पहिलो बैठकले निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट बाँकी पदाधिकारी चयन गर्ने व्यवस्था छ।

समस्यामै छन् चलचित्र घर सञ्चालक
एक समय नेपालमा हाइभिजन र सेल्युलोइड प्रविधिका गरी ४०० भन्दा बढी चलचित्र घर सञ्चालनमा थिए। माओवादी द्वन्द्वकालमा सुरु भएको बन्द हुने क्रमसँगै चलचित्र घरहरूको सङ्ख्या घटेर करिब १०० मा झरेको थियो। अहिले भने देशभर करिब १७५ चलचित्र घर सञ्चालनमा रहेको व्यवसायीहरूको अनुमान छ।

अहिले पनि चलचित्र घर सञ्चालकहरूले टिकट बिक्रीमा लाग्ने विभिन्न शीर्षकका कर, चलचित्र घर निर्माण तथा पुनर्निर्माणका लागि आवश्यक सामग्री आयात गर्दा भन्सार छुट नपाउनेलगायत समस्याको सामना गरिरहेका छन्। कतिपय सञ्चालकका अनुसार चलचित्रको टिकट बिक्रीसँग पपकर्नलगायत खाद्य सामग्रीको बिक्रीबाट हुने आम्दानीले जेनतेन यो व्यवसाय धान्न सहयोग पु¥याइरहेको छ । सरकारले सहुलियत नदिएका कारण अहिले सञ्चालनमा रहेका कतीपय चलचित्र घरका सिट, चलचित्र प्रदर्शन पर्दा, स्क्रिनिङ (लेजर), ध्वनी प्रणाली फेर्ने पर्ने अबस्था आउँदा पनि फेर्न नसकेको हल सञ्चालकहरुको कथन छ । हलमा पुन फेर्नु पर्ने यी सामानमा भन्सार र कर छुट पाएमा फर्न सक्ने नपाए बिस्तारै हल बन्द गर्नु पर्ने अवस्था आउने पनि आधाजसो चलचित्र घर सञ्चालकहरुको भनाई छ ।

सरकारको सहुलियतले उत्तर प्रदेशमा ब्ढ्यो ४०० भन्दा बढी हल
भारतको उत्तर प्रदेश सरकारले एकल पर्दाका पुराना चलचित्र घरलाई आधुनिक डिजिटल प्रविधिमा रूपान्तरण गरी मल्टिप्लेक्स बनाउन कर छुट तथा विभिन्न सहुलियत उपलब्ध गराएको उदाहरण व्यवसायीहरूले प्रस्तुत गर्दै आएका छन्। भवन निर्माणदेखि आवश्यक उपकरण खरिदसम्म सहुलियत दिइएपछि त्यहाँ बन्द अवस्थामा रहेका कतिपय चलचित्र घर पुनः सञ्चालनमा आएका छन्। हाल उत्तर प्रदेशमा मात्रै ८५० भन्दा बढी चलचित्र घर रहेको बताइन्छ । उत्तर प्रदेशमा पुराना हल बन्द हुने क्रममा बढेपछि घटेर ३९० को सँख्या खुम्चिएको थियो । पछिल्लो समय युपी सरकारले सहुलियत दिएपछि त्यहाँ मल्टिप्लेक्स र सिंगल डिजिटल हल फस्टाएको हो ।

नेपालमा पुरानो कानुन, हल टिकाउने बारे दैवले जानुन
नेपालको चलचित्र प्रदर्शन व्यवसाय लामो समयदेखि विभिन्न नीतिगत तथा आर्थिक समस्याबाट गुज्रिरहेको छ। चलचित्र निर्माण, वितरण तथा प्रदर्शनसम्बन्धी व्यवस्था अझै पनि २०२६ सालमा बनेको ऐनबाट निर्देशित हुँदै आएको छ। समयअनुसार कानुन र नीति परिमार्जन नहुँदा चलचित्र घर सञ्चालकहरूले अपेक्षित सरकारी सहयोग र सुविधा पाउन सकेका छैनन्।

नेपालमा भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डले बन्द भएका चलचित्र घर पुनः सञ्चालनमा ल्याउन कर छुट, सहुलियत ऋण तथा अन्य प्रोत्साहनका कार्यक्रम ल्याउन सकेका छैनन्। यही कारण चलचित्र प्रदर्शन व्यवसाय अपेक्षित रूपमा विस्तार हुन नसकेको व्यवसायीहरूको गुनासो छ।

नेपालका ४० भन्दा बढी नयाँ सहर तथा नगरपालिकामा चलचित्र घर सञ्चालनको सम्भावना रहेको व्यवसायीहरूको भनाइ छ। यस्तो अवस्थामा चलचित्र घरको संरक्षण, आधुनिकीकरण र विस्तारका लागि सरकारले विशेष नीति ल्याउनुपर्ने आवश्यकता देखिन्छ। आज हुने नेपाल चलचित्र संघको ५२औँ वार्षिक साधारण सभामा नयाँ नेतृत्व चयनसँगै चलचित्र घर सञ्चालकका यी समस्याबारे पनि गम्भीर छलफल र ठोस निर्णय हुनुपर्ने अपेक्षा गरिएको छ।

तस्बिर : सरिता भारती/ब्युटी न्युज नेपाल