ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ मंसिर
नेपाली भजन संगीतमा आध्यात्मिक चेतना, मानवीय संवेदना र जीवन दर्शन समेटिएको नयाँ भजन ‘रामले बाटो देखाइदेऊ’ सार्वजनिक भएको छ। नारायण कँडेलको प्रस्तुतिमा तयार भएको उक्त भजन नारायण कँडेल अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
भगवान् श्रीरामलाई सम्बोधन गर्दै तयार पारिएको यस भजनले श्रीराममा मात्र सीमित नभई सम्पूर्ण देवीदेवताप्रतिको आस्था, विश्वास र भक्तिभावलाई समेटेको छ। मानव जीवनमा देखिने लोभ, मोह, ईर्ष्या र घमण्ड क्षणिक हुने तथा संसारबाट केही पनि साथमा लिएर जान नसकिने शाश्वत सत्यलाई भजनमा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ।
गीतकार नारायण कँडेलले आफ्ना शब्दमार्फत मानव जीवनको वास्तविकता, आध्यात्मिक चेतना र सत्मार्गको महत्त्वलाई अभिव्यक्त गरेका छन्। उनका भावपूर्ण शब्दमा कृष्णा आचार्य ‘रोशनी’ले संगीत भरेकी छन्। शब्द र संगीतको भावनात्मक संयोजनले भजनलाई भक्तिगीतमा मात्र सीमित नराखी जीवनको अर्थ बुझ्न र आत्मसमीक्षा गर्न प्रेरित गर्ने सन्देशमूलक सिर्जनाका रूपमा प्रस्तुत गरेको छ।
भजनमा सूर्य खड्का, देवी घर्ती र कोष खड्काको स्वर रहेको छ। कृष्ण केसीले संगीत संयोजन गरेका छन् भने गोविन्द अनेकले रेकर्डिङ गरेका छन्। त्यस्तै, श्यामश्वेत रसाइलीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्। भजनको रेकर्डिङ तथा निर्माण प्रिज्म स्टुडियोमा गरिएको हो।
भजनको भिडियो पनि धार्मिक तथा आध्यात्मिक परिवेशमा तयार पारिएको छ। भगवान् श्रीरामप्रतिको भक्तिभाव र सम्पूर्ण ईश्वरप्रतिको आस्थालाई दृश्यात्मक रूपमा प्रस्तुत गर्न काठमाडौँको बत्तीसपुतलीस्थित राम मन्दिर परिसरमा भिडियो छायांकन गरिएको हो। मन्दिरको धार्मिक वातावरण र सामूहिक सांगीतिक प्रस्तुतिले भजनको भावलाई थप जीवन्त बनाएको छ।
कृष्णा आचार्य ‘रोशनी’को निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोमा देवी घर्ती, कोष खड्का, सज्जन हमाल ठकुरी र कृष्णा आचार्य ‘रोशनी’को अभिनय तथा प्रस्तुति रहेको छ। नवीन घर्ती मगरले सम्पादन गरेको भिडियोको छायांकन दुर्गा पौडेलले गरेका हुन्। भिडियोको पोस्ट प्रोडक्सन एडभेन्चर इन्टरटेनमेन्टले गरेको छ। भजनले मानिसलाई सांसारिक मोह, अहंकार र क्षणिक स्वार्थभन्दा माथि उठेर प्रेम, सद्भाव, विनम्रता र सत्कर्मको बाटो रोज्न प्रेरित गरेको छ। जीवनको अन्तिम सत्यलाई आत्मसात् गर्दै ईश्वरप्रति आस्था राखेर सही मार्गमा अघि बढ्नुपर्ने सन्देश नै यस भजनको मूल भाव रहेको छ।







