‘जलाकी’ को अग्रिम टिकट बुकिङ खुल्यो, क्युएफएक्सले दियो २७ शो


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ मंसिर

निर्देशक अशोक थापा मगरको निर्देशनमा निर्माण भएको सिनेमा ‘जलाकी’ प्रदर्शनको तयारीमा जुटेको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा सिनेमाको अग्रिम टिकट बुकिङ खुला गरिएको छ। बुधबारदेखि देशका प्रमुख मल्टिप्लेक्स हलहरूले टिकट बिक्री सुरु गरेका हुन्।

ब्युएफएक्स चेन, आइएनआइ सिनेमाज र वान सिनेमाजले सिनेमाको अग्रिम टिकट बुकिङ खुलाएका छन्। क्युएफएक्सले प्रारम्भिक रूपमा उपत्यका र उपत्यकाबाहिरका हलमा गरी २७ शो उपलब्ध गराएको छ। अन्य सिनेमा हलहरूले भने बुकिङ खुलाउने तयारी गरिरहेका छन्।

यसैबीच, ‘जलाकी’ ले मंगलबार चलचित्र जाँच समितिबाट युनिभर्सल (यू) प्रदर्शन प्रमाणपत्र प्राप्त गरेको छ। सेन्सर प्रक्रियामा सहभागी सदस्यहरूले समेत सिनेमा उत्कृष्ट बनेको प्रतिक्रिया दिएको निर्देशक मगरले बताएका छन्।

यसअघि सार्वजनिक टिजर, ट्रेलर तथा गीतबाट दर्शकमाझ चर्चा बटुल्न सफल ‘जलाकी’ ले प्रदर्शनपछि पनि दर्शकको राम्रो साथ पाउनेमा निर्देशक मगर विश्वस्त छन्। प्रचार सामग्रीप्रति दर्शकले देखाएको उत्साहले आफूहरूलाई थप हौसला मिलेको उनको भनाइ छ।

निर्देशक मगरको यो दोस्रो निर्देशकीय सिनेमा हो। यसअघि उनले निर्देशन गरेको सिनेमा ‘खुस्मा’ दर्शकमाझ चर्चित बनेको थियो। ‘जलाकी’ मा उपासना सिंह ठकुरी र सोनम तोप्देन मुख्य भूमिकामा छन्। उनीहरूसँगै शिल्पा मास्के, साहारा हाङ्मा लिम्बू, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिनलगायत कलाकारको अभिनय छ।

त्यस्तै, विशेष भूमिकामा क्याप्टेन विजय लामा देखिँदैछन्। बालकलाकारका रूपमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगरले अभिनय गरेका छन्।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन्। सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिस्ट्रीब्युसनले गर्दैछन्। अग्रिम टिकट बुकिङ खुलिसकेसँगै ‘जलाकी’ ले प्रदर्शनअघि नै दर्शकको आकर्षण कति बटुल्न सक्छ भन्ने चासो बढेको छ।